४ असोज २०७७
म्याग्दीका सर्जक चन्द्रप्रकाश बानियाँको ऐतिहासिक उपन्यास ‘महारानी’लाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ । गुठीले यसअघि पुरस्कारका लागि सातओटा पुस्तकको सूची मनोनित गरेको सार्वजनिक भएको थियो ।
बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल पोखरा बस्दै आएका बानियाँ म्याग्दीमा चिनिएको नाउँ हो । वि.सं. २०४८ सालमा म्याग्दीबाट निर्वाचित सांसद रहिसकेका बानियाँ पछिल्लो समय सकृय राजनीतिबाट टाढा रही लेखनकार्यमा केन्द्रित भएका थिए ।
म्याग्दी जिल्लाको ऐतिहासिक विषयलाई खोतलखातल पारी बाहिर ल्याउने श्रेय बानियाँलाई जान्छ । हालसम्म ‘मृत्युसंस्कार मन्थन’, ‘कुलपूजा’, ‘ऐतिहासिक पर्वत राज्य’ प्रकाशित गरिसकेका बानियाँले विभिन्न अखबारमा समसामयिक विषयमा नियमित स्तम्भ लेखनसमेत गर्दैै आएका छन् ।
![]() |
उपन्याकार बानियाँ |
ठटाललाई जगदम्बाश्री
यसैगरी गुठीले नेपाली सङ्गीतमा योगदान पु¥याएबापत शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ । गत ६ दशकदेखि नेपाली गीत सङ्गगीत क्षेत्रमा समर्पित रही यसको उन्नयनमा विशिष्ट योगदान पु¥याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशिकै हो ।
कोरोना महामारीको कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै पुरस्कार वितरण गर्ने मिति पछि सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्यसाहित्य, समाजशास्त्र र विज्ञान विधातर्फ क्रमशः सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशीलाई पुरस्कृत गरेको थियो ।