बेनी
असोज ११
म्याग्दी र मुस्ताङका कृषकलाई लक्षित गरी चालु आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको छ । आइतबार कृषि ज्ञान केन्द्र म्याग्दीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी गराइएको हो । केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेका अनुसार दुई जिल्लाका कृषकलक्षित बजेट ९ करोड १७ लाख रहेको छ ।
विनियोजित बजेटमध्ये गण्डकी प्रदेश सरकारबाट ६ करोड ९१ लाख ९६ हजार र संघ सरकारबाट ४ करोड २५ लाख विनियोजन भएको हो । प्रदेश र संघ सरकारबाट छुट्ट्याइएको कुल बजेट ११ करोड १७ लाख ७८ हजार रुपैयाँमध्ये कार्यालयको चालु खर्चका लागि २ करोड बजेट रहेको छ । पाण्डेका अनुसार उक्त रकम कार्यालय सञ्चालन तथा सवारीसाधन खरिदका लागि रहेको हो ।
कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न खोज्ने कृषकलाई बाँझो जमिनमा व्यावसायिक खेती, फलफूल तथा नगदे बालीको बिरुवा नर्सरी, रैथाने बालीको संरक्षण, घरघरमा प्राङ्गारिक मल उत्पादन, कृषि उपज सङ्कलन केन्द्र, साना कृषि फार्म विस्तार, तालिम लगायतको क्षेत्रका लागि बजेट स्वीकृत भई आएको अधिकृत पाण्डेले जानकारी दिए ।
म्याग्दीमा व्यावसायिक रुपमा कृषि खेती गर्ने कृषकहरुलाई मकै भटमास र चैते धान खेती विस्तार, आलु खेती प्रवद्र्धन, व्यावसायिक रुपमा फलफूल खेती गर्ने कृषकलाई कृषि सामग्री वितरण, प्राविधिक सहयोग, आधुनिक कृषि औजार वितरणलगायतका कार्यत्रम रहेका छन् ।