बेनी
मङ्सिर ५
गत चैतदेखि बन्द रहेका बेनी नगरपालिका भित्रका विद्यालयहरु सञ्चालन गर्ने तयारी भएको छ । बिहीबार सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकसहित बसेको बैठकले विद्यालय सञ्चालन गर्नेबारे कार्ययोजना निर्माण गर्ने निर्णय गरेको हो।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालय सञ्चालनको ढाँचा तयार गरी विद्यालय खोल्ने तयारी भैरहेको जानकारी दिए । “सरकारले बाटो खोलिदिएपछि अब थप निर्णय गर्ने जिम्मा पालिकाहरुमा सरेको छ,” अधिकृत सुवेदीले भने, “स्वास्थ्य मापदण्ड पालना गरी कसरी विद्यालय शुरु गर्न सकिन्छ भन्नेबारे छलफल भयो ।”
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नगरपालिकामा शिक्षा शाखा हेर्ने प्रमुख र प्रतिनिधि सहभागी बैठकले विद्यालय सञ्चालनको ढाँचा तयार गरी थप निर्णय गर्ने बताइएको छ ।
यता, बिहीबारको निर्णयपछि बेनी बजार क्षेत्रका विद्यालयहरुले विद्यालय सञ्चालन गर्नेबारे आन्तरिक छलफल तथा विद्यालयको सरसफाई शुरु गरेका छन् ।
त्यसैगरी विद्यालय सञ्चालन गर्नेबारे न्यू वेष्ट प्वाइन्ट आवासीय माविले शिक्षक, विद्यालयका संस्थापकहरुसँग संयुक्तरुपमा छलफल गरेको छ ।
त्यसैगरी प्रकाश माध्यमिक विद्यालय, माउण्ट एभरेष्ट आवासीय मावि, बेनी सामुदायिक मावि र म्याग्दी बहुमुखी क्याम्पसले पनि शैक्षिक क्रियाकलापलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफलको तयारी गरेको बुझिएको छ ।
यसअघि बुधबार बेनी बजार क्षेत्रका विद्यालयका प्रमुख तथा प्रतिनिधिहरुको संयुक्त बैठकले विद्यालय सञ्चालन गर्नेबारे नगरपालिकासँग छलफल गर्ने निर्णय गरेको थियो ।
गत कात्तिक २२ गतेको मन्त्रिपरिषद बैठकले विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ स्वीकृत गरेपछि विद्यालय सञ्चालन गर्ने कि नगर्ने भनी निर्णय गर्ने जिम्मा पालिकामा सरेको थियो ।


