Notification

×

Iklan

Iklan

म्याद सिद्धिएको नौ महिनापछि ‘साइट’ फर्कियो ठेकेदार

Sunday, November 22, 2020 | November 22, 2020 WIB Last Updated 2021-12-30T03:25:18Z

 बेनी 

मङ्सिर ८


तोकिएको समयमै काम पुरा भएको भए हिजोआज सवारी साधन पक्की पुलमाथि हुइँकिएका हुन्थे । तर, ठेकेदारको लापरवाही र सरोकारवाला निकायको बेवास्ताका कारण म्याद सकिएको नौ महिनापछि ठेकेदार ‘साइट’मा फर्किएको छ । यो प्रसङ्ग हो बेनी–जोमसोम सडक अन्तर्गत रघुगङ्गा नदीमा निर्माणाधीन मोटरेबल पुलको ।




गएको चैतमै बनिसक्नुपर्ने पुल बनेन । यसबीचमा वर्षायामको रघुगङ्गा नदीको कटानले बेलिब्रिजमा क्षति पुग्दा म्याग्दीका रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकासहित पुरै मुस्ताङ जिल्ला सडक सञ्जालबाट विच्छेद भए । नागरिकले हुनसम्म सास्ती पाए । अब आएर बल्ल मुख्य ठेकेदार कम्पनी कालिका–गजुरमुखीले केही मजदुरलाई साइटमा ग्याबियन जाली भर्न खटाएको छ । 


सरकारले राष्ट्रिय गौरवको आयोजनाभित्र समेटेको, भारत र चीनलाई जोड्ने करिडोर सडकको त यो हालत छ भने अन्य आयोजनाको के हविगत होला ? हामी अनुमान गर्न सक्छौं ।




रघुगङ्गा नदीमाथि पक्की पुल बनाउन २०७४ असारमा कालिका–गजुरमुखी कम्पनीले ६ करोड २४ लाख तीन हजार ८२५ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । त्यसको म्याद २०७६ चैत २६ गते सकियो । तर, पुल सकिनु त के पिलरसमेत राम्ररी ठडिएन । रघुगङ्गा नदीमाथि ४० मिटर लामो र ११ मिटर चौडाईको मोटरेबल पुल बनाउने काम अहिले पनि अलपत्र अवस्थामै छ ।


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकास सल्लाहकार ई. गजेन्द्र थपलियाले शनिबार म्याग्दी भ्रमण गरे । जिल्लामामा सञ्चालित विकास आयोजनाको निरीक्षण भ्रमणका क्रममा उनीहरुले अलपत्र अवस्थाको निर्माणाधीन पुलसमेत अवलोकन गरे । 




योजना आयोगका उपाध्यक्ष फर्किएको भोलिपल्ट म्याग्दीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलगातले गलेश्वरमै पुगी निर्माण प्रक्रियाको अवलोकन गरी निर्देशन दिने काम गरेका छन् ।


निर्माण सकिएर सवारी ओहोरदोहार भैसक्नुपर्ने बेला आधा पनि भौतिक प्रगति नभएपछि स्वाभाविक रुपमा योजना आयोगका उपाध्यक्षको चासो हुने नै भयो । शायद त्यसैको प्रभाव हुनुपर्छ, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भोलिपल्टै निर्माण स्थलमा पुगेर ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै काम सक्न निर्देशन दिने काम भयो । 




‘ओपन फाउण्डेशन प्रिस्टेड प्रविधि’को पुल बनाउने योजनामा काम अघि नबढेपछि आइतबार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेको हो ।


लामो समयसम्म काम रोकिएको यस आयोजनालाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रजिअ उमाकान्त अधिकारीले निर्देशन दिए । योजना सम्पन्न गर्दा कुनै समस्या आए स्थानीय प्रशासनले सहजीकरण गर्ने आश्वासन दिँदै प्रजिअ अधिकारीले जनशक्ति, निर्माण सामग्री र उपकरण थपेर भए पनि कामलाई गति दिन कम्पनीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेलाई निर्देशन दिए ।


कम्पनीका प्रोजेक्ट म्यानेजर न्यौपानेले पुलको दुबैतर्फका पिलर उठाउने काम सकिएको र आगामी चैतभित्रमा अधिकांश निर्माण कार्यलाई सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर काममा जुटेको जानकारी दिएका छन् । 


प्रजिअ अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ लगायतको टोलीले निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका प्राविधिकहरुसँग पनि छलफल गरेका थिए ।


तोकिएको समयमा दुइटा पिलर उठाउनेबाहेक थप प्रगति देखाउन नसकेको ठेकेदार कम्पनीले आगामी चैतसम्म पुल निर्माणको काम सक्ला नसक्ला तर यसमा निर्देशन दिने र प्रतिबद्धता जनाउने कामचाहिँ पुरा भएको छ ।



×
Berita Terbaru Update