Notification

×

Iklan

Iklan

महाकवि देवकोटाको ११२औं जन्मजयन्ती मनाइँदै

Friday, November 13, 2020 | November 13, 2020 WIB Last Updated 2021-12-30T03:25:33Z

 बेनी

कात्तिक २९


नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्मजयन्ती आज नेपालमा र विदेशमा समेत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 




महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सबै विधामा गरी सयौं कृति दिएका छन् । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउने काम गरेका छन् ।


नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किएको छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन गरिएको पनि पाइन्छ ।


भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ ।


नेपाली नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको धारणा व्यक्त गरेका थिए ।


विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत देवकोटाले महत्वपूर्ण योगदान दिएका छन् ।


वि.सं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री बनेका बखत देवकोटाले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन भूमिका खेलेका थिए । साथै अहिलेको नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिने कामसमेत देवकोटाबाट भएका छन् ।


तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने ‘आशुकवित्व’ थियो । 


×
Berita Terbaru Update