Notification

×

Iklan

Iklan

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा शुरु

Saturday, November 7, 2020 | November 07, 2020 WIB Last Updated 2021-12-30T03:25:43Z

बेनी

कात्तिक २३


सदरमुकाम बेनी र यस आसपासका विद्यालयहरुमा आजदेखि कक्षा ११ को ग्रेडवृद्धि परीक्षा शुरु भएको छ । गत वैशाखमै सकिनुपर्ने परीक्षा कोरोना महामारीको जोखिमका कारण रोकिएको थियो ।




राष्ट्रिय परीक्षा बोर्डले मंसिर ८ गतेभन्दा पहिले नै ११ कक्षाको आंशिक र ग्रेडवृद्धि परीक्षा सकिसक्न निर्देशन दिएपछि उक्त परीक्षा शुरु भएको हो ।


आइतबार सदरमुकाम बेनीका प्रकाश मावि, बेनी सामुदायिक मावि, माउण्ट एभरेष्ट आवासीय मावि, न्यू वेष्ट प्वाइन्ट आवासीय मावि र म्याग्दी बहुमुखी क्याम्पसले परीक्षा शुरु भएको जानकारी दिएका छन् ।





त्यसैगरी रत्नेचौरस्थित भानु माविले पनि आइतबारदेखि नै परीक्षा शुरु भएको बताएका छन् ।

 



१२ कक्षाको मूल्याङ्कनका लागि कक्षा ११ मा विद्यार्थीले प्राप्त गरेको औसत उपलब्धिलाई आधार मान्ने गरी नयाँ कार्यविधि तयार भएपछि हतारहतार ११ कक्षाको आंशिक तथा ग्रेडवृद्धि परीक्षा शुरु भएको हो।




माउण्ट एभरेष्ट आवासीय माविका प्रधानाध्यापक राजु केसीले लामो समयपछि परीक्षामा सामेल हुन पाएकोमा विद्यार्थीहरु खुशी देखिएको बताए । “ढिलै भएपनि परीक्षा शुरु भएकोमा विद्यार्थीहरु खुशी देखिएको मैले पाएँ,” प्रअ केसीले बताए ।




प्रकाश माविका प्रधानाध्यापक हरिकृष्ण सुवेदीले मास्क, स्यानिटाइजर, भौतिक दुरीलगायतका मापदण्ड पूरा गरिएको जानकारी दिए । “राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार नै स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा चलाएका छौं,” प्रअ सुवेदीले भने ।





शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले कोरोना महामारीको जोखिमका बीचमा परीक्षा सञ्चालन हुनु राम्रो सन्देश भएको बताए । “लामो समयपछि परीक्षा शुरु हुनु आफैमा राम्रो सन्देश हो,” प्रमुख थापाले भने, “यो परीक्षाको अनुभवबाट सिकेर १२ कक्षाको परीक्षामा उपयोग गर्नु अझ राम्रो होला ।”


राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षाको सञ्चालन गर्नेगरी सूचना जारी गरिसकेको छ।


×
Berita Terbaru Update