बेनी
मङ्सिर १८
उत्तरी म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत् प्रशारण लाइन परीक्षणको चरणमा पुगेको छ । आयोजनाका लागि आवश्यक पर्ने टावर निर्माण, प्रशारण लाइनको तार तान्ने र सबस्टेशनमा उपकरण जडान भएसँगै आयोजना परीक्षणको चरणमा पुगेको हो ।
![]() |
| आयोजनाको पर्वत, माझफाँट खण्डमा रहेका पोलहरु |
कालीगण्डकी करिडोर अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पु¥याएको हो ।
आयोजना प्रमुख चन्दनकुमार घोषले आयोजनाका लागि आवश्यक ११० वटा टावर निर्माण भइसकेको जानकारी दिँदै फिनिसिङ र परीक्षण सकेपछि एक हप्ताभित्र प्रशारण लाइन र सबस्टेशन सञ्चालन गर्न सकिने जानकारी दिएका छन् ।
म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्म करिब ३९ किलोमिटर दुरीमा प्रशारण लाइन निर्माण भएको हो ।
म्याग्दीको कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय ग्रीडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेशन निर्माण गरेको हो ।
प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
