बेनी
मङ्सिर २०
चीनले चन्द्रमाको सतहमा आफ्नो देशको झण्डा गाडेको छ । अमेरिकापछि चन्द्रमाको सतहमा राष्ट्रिय झण्डा गाड्न चीन सफल भएको हो । अमेरिकाले चन्द्रमामा झण्डा गाडेको ५० वर्षपछि चीनले चन्द्रमाको सतहमा आफ्नो राष्ट्रिय झण्डा सफलतापूर्वक गाडेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार ‘चाङ ए–५’ ले चन्द्रमामा झण्डा देखिने तस्बिर खिचेको हो । अमेरिकाले सन् १९६९ मा एपोलो–११ को साहायतामा चन्द्रमामा झण्डा गाडेको थियो । चीन तेस्रो पटकको प्रयासमा आफ्नो राष्ट्रिय झण्डा गाड्न सफल भएको हो ।
‘नेशनल स्पेश एडमिनिस्ट्रेशन’ ले सार्वजनिक गरेको तस्बिरमा चिनियाँ झण्डा चन्द्रमाको सतहमा ठडिएको देखिएको छ ।
चीनले चन्द्रमामा गाडेको झन्डाको तौल एक किलोग्राम रहेको उल्लेख गरिएको छ । दुई मिटर फराकिलो र ९० सेन्टिमिटर अग्लो झण्डालाई चिसोबाट सुरक्षित गरेर राखिएको चिनियाँ दाबी छ ।
यो झण्डाका निर्माता चेङ चाङले यो अरु सामान्य झण्डा भन्दा बिल्कुल फरक रहेको बताएका छन् । अरु सामान्य झण्डा चन्द्रमामा रहन नसक्ने उनको भनाइ छ ।