बेनी
पुस ५
नेपाल पत्रकार महासंघले राष्ट्रपतिलाई संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सो सिफारिस संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि बज्रपात हुन पुगेको बताएको छ।
‘प्रधानमन्त्री ओलीको यो कदम २०६२/०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानको संवैधानिक व्यवस्थाविरूद्ध भएको नेपाल पत्रकार महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रधानमन्त्रीको उक्त संविधानविपरीतको सिफारिस कार्यान्वयन नगर्न सम्माननीय राष्ट्रपतिसँग आग्रह गर्दछ।’
त्यस्तै, सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूलाई यसको विरोध गर्न महासंघले आग्रह गरेको छ।
