बेनी
पुस ३
संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौंमा आयोजना गरेको ‘पर्यटनमा कोभिड–१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् । पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको असर परेको उल्लेख गर्दै मन्त्रीले आन्तरिक पर्यटनको विकास नभई पर्यटन क्षेत्र ब्युँताउन कठिन हुने बताएका थिए ।
कार्यक्रममा मन्त्रीले भने, “अब बल्ल कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भएपनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।” कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मी, होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष सृजना राणा र मन्त्रालयका अधिकृत रचना प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रमाथि मन्त्रालयका सहसचिवद्वय बुद्धिसागर लामिछाने, कोमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र डा विजय पौडेलले टिप्पणी गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाका, निजी क्षेत्रका प्रतिनिधि तथा कर्मचारीका विभिन्न संघ्, सङ्गठनका प्रतिनिधिले पनि आ–आफ्ना धारणा राखेका थिए ।
पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत् आर्थिक विकास गर्ने उद्देश्यले नेपालले पहिलोपटक सन् १९९८ मा पर्यटन वर्ष घोषणा गरेको थियो ।
सन् २०२० लाई पर्यटन वर्ष मनाउने गरी ओली नेतृत्वको सरकारले सबैखाले तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण सरकारले ‘भिजिट २०२०’ को उक्त कार्यक्रम स्थगित गरेको छ । कोरोना महामारीका कारण सबैभन्दा धेरै यातायात र पर्यटन क्षेत्र मारमा परेको भन्दै सरकारले पर्यटन क्षेत्रलाई टिकाइराख्नका लागि सातामा दुई दिन विदा दिने, आन्तरिक पर्यटनको प्रवद्र्धनलगायतका निर्णय गर्न लागेको बताइन्छ ।
