बेनी
पुस २८
कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको हाे ।
पटकपटक सर्दै अाएकाे रिटमाथिकाे पेसी पछिल्लोपटक साेमबारका लागि ताेकिएकाे थियाे । तर, मुद्दाको बहस नसकिएपछि 'हेर्दाहेर्दै'मा राखेर आजका लागि सारेको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको जानकारी दिए ।
चालु शैक्षिक सत्र सकिन तीन महिना बाँकी रहँदै गर्दा नयाँ वा पुरानो कुन पाठ्यक्रम लागू गर्ने भन्ने निर्क्योल नहुँदा विद्यार्थी, शिक्षक र अभिभावक अन्योलमा परेका थिए । सर्वोच्चको निर्देशनात्मक आदेश जारी भएसँगै पाठ्यक्रमको अन्योल हटेको भन्दै सरोकारवालाहरुले खुशी व्यक्त गरेका छन् ।
नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।