बेनी
माघ ४
रघुगङ्गा गाउँपालिका–३, मौवाफाँटमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । कपडा तथा फेन्सी व्यवसायी समिति, म्याग्दीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका १२ जना विद्यार्थीलाई स्वेटर, टोपी र जुत्ता वितरण गरेको हो ।
उक्त अवसरमा विद्यालयमा अध्ययनरत साधारणतर्फका १० जना विपन्न तथा गरिब परिवारका विद्यार्थीहरुलाई समेत झोला वितरण गरिएको समितिका अध्यक्ष रविप्रसाद शर्माले जानकारी दिएका छन् ।
आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच समितिका अध्यक्ष रविप्रसाद शर्मा, सहसचिव देवीप्रसाद शर्मा (डिपी), सदस्य रमेश चापागाईं लगायतले विद्यार्थीहरुलाई पोशाक र झोला वितरण गरेको संस्थाका सचिव दामोदर शर्माले जानकारी दिएका छन् ।
पोशाक तथा झोला वितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक पर्शुराम गौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्माले विद्यार्थीहरुलाई कपडा र झोला लगायतका सामग्री सहयोग गरेकोमा समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगलाई निरनन्तरता दिन आग्रह गरेका थिए ।
समितिका अध्यक्ष शर्माका अनुसार करिब २५ हजार बराबरको सहयोग गरिएको हो । म्याग्दीमा कपडा तथा फेन्सी व्यवसाय गर्दै आएका व्यक्तिहरु समेटिएको समितिले यसअघि धौलागिरि गाउँपालिकाका पहिरो पीडितहरुलाई रु ४ लाख ५० हजार बराबरको लत्ताकपडा सहयोग गरेको थियो ।