बेनी
माघ ३०
कोरोना भाइरसको महामारीपछि सुनसान बनेको म्याग्दीको गलेश्वरधाममा पछिल्लो दुई महिनायता धार्मिक श्रद्धालु र आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । गएको चैतमा बन्द भएको गलेश्वरधामस्थित शिवालय मन्दिर गत पुस महिनादेखि मात्रै सर्वसाधारणका लागि खुला गरिएको थियो ।
शिवालय मन्दिरका मूल पुजारी चन्द्रमणि आचार्यले महामारीको त्रासका कारण अन्य क्षेत्रजस्तै गलेश्वरधाम पनि बन्द भएको तर नित्यपूजा भने एक दिन पनि नरोकिएको जानकारी दिए । “यस वर्षको श्रावणी, बालाचतुर्दशीलगायतका महत्वपूर्ण पर्वहरुमा श्रद्धालु भक्तजनलाई प्रवेशको अनुमति दिने अवस्था थिएन”, आचार्यले भने, “पुस महिना लागेपछि मात्रै आमभक्तालुले दर्शन र पूजा गर्न थाल्नुभएको छ ।”
नौ महिनासम्म बन्द रहेको गलेश्वरधाम क्षेत्रमा विभिन्न जिल्लाबाट भ्रमणमा आउने धार्मिक पर्यटकको संख्या बढ्दै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले जानकारी दिए ।
“भारतीय श्रद्धालु नआए पनि पछिल्लोपटक चितवन, भैरहवा, नवलपरासी जस्ता जिल्लाबाट श्रद्धालुहरु आउन थाल्नुभएको छ,” गएको शनिबार माघे झरीका बीचमा श्रद्धालुहरुलाई गलेश्वरधामको धार्मिक, ऐतिहासिक महत्व सुनाउँदै गरेका पराजुलीले भने, “अब विस्तारै महाशिवरात्रिसम्म श्रद्धालुहरुको संख्या पहिलेझैं बढ्ने अपेक्षा गरेका छौं ।”
मुस्ताङको भ्रमणमा निस्किएका धार्मिक श्रद्धालु तथा अन्य पर्यटकहरुले अनिवार्यजस्तै गरी गलेश्वरधाममा दर्शन गर्थे । तर, महामारीका कारण सरकारले यातायातलगायतका साधन गुडाउन प्रतिबन्ध लगाए पछि यस वर्ष गलेश्वर भ्रमण गर्ने श्रद्धालुको संख्या ह्वात्तै घटेको उपाध्यक्ष पराजुलीको भनाइ छ । महामारीका कारण विशेषगरी भारतीयहरु आउन नपाउँदा विदेशी धार्मिक पर्यटकको संख्या शून्यजस्तै रहेको पराजुलीको भनाइ थियो ।
पवित्र नदी कालीगण्डकीको किनारमा अवस्थित गलेश्वरधामको मुख्य ठाउँ नौ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ दर्शनका लागि शिवालय मन्दिर, राधाकृष्ण मन्दिर, जडभरत गुफा, सिद्धतपस्थली गायत्रीधाम, पर्वतको जलजलास्थित राममन्दिर लगायतका पवित्र नदी र देवालय रहेका छन् ।