बेनी
फागुन ७
म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट आवासीय माविले आयोजना गरेको अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगितामा गलेश्वर आदर्श बोर्डिङ स्कुल, गलेश्वरले पहिलो स्थान हासिल गरेको छ ।
यूवा रेडक्रस सर्कल, न्यू वेष्ट प्वाइन्टले शुक्रबार आयोजना गरेको प्रतियोगितामा प्रकाश मावि, बेनी बोर्डिङ स्कुल र आयोजक न्यू वेष्ट प्वाइन्ट आवासीय माविले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् । विजेता समूहलाई क्रमशः नगद आठ हजार, पाँच हजार, तीन हजार, प्रमाणपत्र र उपहारसमेत दिइएको आयोजकले जनाएको छ ।
जम्मा १६ ओटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिता एसईई परीक्षालाई लक्षित गरी विषयगत रुपमा सञ्चालन गरिएको विद्यालयका हाजिरीजवाफ विभागका प्रमुख मनोज खड्काले जानकारी दिए ।
प्रतियोगिताका विजेता समूह तथा सहभागीहरुलाई प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपसभापति अमर बानियाँले नगद र प्रमाणपत्र प्रदान गरेका थिए।
यु.रे.स. न्यू वेष्ट प्वाइन्टका अध्यक्ष दिपशिखा किसानको अध्यक्षता, कक्षा १२ का छात्रा शिला जिसीको स्वागत तथा शिक्षक कृष्ण जिसीको सञ्चालन रहेको कार्यक्रममा वेष्ट प्वाइन्ट एजुकेसन फाउण्डेसनका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र विद्यालयका प्रिन्सिपल डि.बि. दाहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।