बेनी
फागुन २
चन्द्रमणि सापकोटा |
म्याग्दीको बराङ्जाका स्थायी बासिन्दा चन्द्रमणि सापकोटाका विभिन्न परिचय छन् । नेपाल सरकारको निजामति सेवामा कार्यरत उनी निजामति कर्मचारी सङ्गठन म्याग्दीका अध्यक्ष हुन् । विद्यालय तहमै अब्बल छात्रको पहिचान बनाएका उनी जडिबुटी विज्ञ हुन् भन्ने कुरा पनि धेरैलाई थाहा छ । धौलागिरी क्षेत्रमा पाइने जडिबुटीको खोज अनुससन्धान गरी पुस्तक प्रकाशन गरिसकेका सापकोटाले म्याग्दीको माथिल्लो भेगमा जडिबुटी खेतीका लागि किसानलाई प्रोत्साहन मात्र दिँदैनन् आवश्यक सल्लाह र फिल्डमै पुगेर निर्देशनसमेत दिने गरेका छन् ।
जिल्ला वन कार्यालयको कर्मचारीका रुपमा कार्यरत सापकोटाले वैज्ञानिक वन व्यवस्थापनबारे उदाहरणीय काम गरेका घटना प्रशस्तै छन् । यूरोपमा उच्च शिक्षा हासिल गरी नेपाल फर्किएका सापकोटा पछिल्लो केही वर्षययता सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशमा काम गरिरहेका छन् ।
दुई साताअघि कोरोना भाइरसबाट सङ्क्रमित बनेका सापकोटा यतिबेला लेखनाथस्थित गण्डकी प्रदेश सरकारको कोरोना अस्पतालमा उपचार गराइरहेका छन् । आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश लेखेर सापकोटाले कोरोना भाइरसको संक्रमण भएयता आफुले भोगेका अनुभवहरुलाई जीवन्त किसिमले पस्किएका छन् ।
नेपालमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको एक वर्ष पुगेको, स्वास्थ्यकर्मी, पत्रकार, निजामति कर्मचारीलगायतलाई कोभिडविरुद्ध खोप लगाउन शुरु भएका बेला संक्रमित बनेका सापकोटाको अनुभव मननीय छ ।
आफुलाई कोरोना र डेङ्गुको संक्रमण एकैपटक भएको जानकारी दिँदै उनले भनेका छन्, “तपार्इंहरुलाई पनि सहज होस भनेर मेरो अनुभव शेयर गर्न उपयुक्त ठानेको छु ।”
कोरोना संक्रमणपछिको दुई सातासम्मको लक्षण/अनुभवलाई ‘टाइमलाइन’मा उल्लेख गर्दै सापकोटाले यस्तो लेखेका छन्ः
- पहिलो दिन बेस्सरी तिर्खा मात्रै लाग्यो, अरु केही भएन ।
- दोस्रो दिन देखि ज्वरो १०२ डिग्री फरेनहाइटसम्म आउने, शरीर भिज्ने गरी पसिना निस्कने, खटाउन नसकिने गरी शरीर दुख्ने ।
- तीन दिनसम्म पखाला पनि लाग्यो ।
- बिचमा १–२ दिन पूरै ठिक भएस्तो गर्ने अनि फेरि ज्वरो र खोकी शुरु हुने ।
- केही दिन पछि निक्कै कमजोरी भएको महशुस, उभिन गाह्रो हुने, खुट्टा बेस्सरी काम्ने ।
- एन्टिबायोटिकको प्रयोगपछि खाना खाँदा वाकवाकी हुने ।
- अरु बोलेको सुन्दा चिडचिडाहट हुने ।
- सुतिराख्दा आनन्द लाग्ने ।
- अक्सिजनको मात्रा विस्तारै घट्दै जाने ।
- मुटुको धड्कन कहिलेकाही अप्रत्यासित रुपमा घटबढ हुने (५० सम्म झर्ने अनि ११२ सम्म पनि पुग्ने) ।
- रगतमा प्लेटलेट्सको मात्रा ह्वात्तै घट्ने । बिस्तारै रगतमा इन्फेक्सन देखियो ।
- सिटी स्क्यान गर्दा (१४ दिनमा) फोक्सोमा निमोनिया शुरु भएको देखियो ।
- निमोनिया ठिक नहुँदै पिसिआर रिपोर्ट नेगेटिभ आयो ।
“आफुलाई नपरेसम्म थाहा हुँदैन भन्ने कुरा मेरो हकमा फेरि पुष्टि भएको छ,” कालञ्जर अनलाइनसँगको टेलिफोन सम्पर्कमा सापकोटाले भने, “कोरोना संक्रमणको विषयलाई ख्यालठट्टामा लिन हुँदैन भन्ने मेरो अनुभव छ ।”
कोरोनाविरुद्ध खोपको विकास भएर लगाउन शुरु हुनु सकारात्मक घटना भएको बताउँदै सापकोटाले भने, “आफैले कोरोनाको खोप नलिएसम्म पहिलेकै जसरी न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन आवश्यक छ ।”
कोरोना संक्रमणको लक्षण सबैलाई नदेखिने बताउँदै सापकोटाले शरीरमा अक्सिजनको मात्रा घट्दै जाने र एकैपटक सास फेर्न गाह्रो हुने हुँदा सावधानी अपनाउनुको विकल्प नभएको सुझावसमेत दिएका छन् ।