बेनी
फागुन २३
पूर्वमन्त्री एवं साविक नेकपा एमालेका नेता योगेश भट्टराईले कसैले पनि बदला र प्रतिशोधको भावना नराख्न अनुरोध गरेका छन् । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि आफ्नो प्रतिक्रिया दिँदै नेता भट्टराई यस्तो आग्रह गरेका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि पनि नेकपा एकताको आधार बाँकी रहेको आशय व्यक्त गर्दै नेता भट्टराईले विगतको अनुभवबाट पाठ सिकेर नयाँ ढङ्गले एकता हुनसक्ने सम्भावना औंल्याएका हुन् ।
साविक एमालेको प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले भने, “कसैले पनि प्रतिशोध र बदलाको भावना नराखौं । संयम र धैर्यका साथ अघि बढ्न म नेतृत्व पंक्तिलाई आग्रह गर्दछु ।” सर्वोच्च अदालतको फैसलालाई आफुले स्वाभाविक रुपमा लिएको भट्टराईको भनाइ थियो ।
“तीन वर्षका कमिकमजोरीबाट शिक्षा लिनुपर्छ । हार र जितको मानसिकताबाट हामी कोही पनि जानु हुँदैन,” भट्टराईले भने, “त्यसो भयो भने कम्युनिष्ट आन्दोलनका निम्ति घातक हुन्छ । बदला र प्रतिशोधको राजनीतिले कसैलाई पनि फाइदा गर्दैन ।”
एमाले र माओवादीको एकीकरणका सम्बन्धमा नेतृत्वले ठण्डा दिमागले सोचेर जानुपर्ने बताउँदै भट्टराईले सकेसम्म कम्युनिष्ट पार्टीहरूको सहमतिमै सरकार बनाउने कोसिस हुनुपर्ने विचार पनि व्यक्त गरेका छन् ।
सर्वोच्चको अदालतको आजको फैसलाले ओली र प्रचण्डले नेतृत्व गरेको नेकपाको आधिकारिकता खारेज भएसँगै उनीहरुको अवस्था २०७५ जेठ २ गतेको अवस्थामा (नेकपा एमाले र माओवादी केन्द्रका रुपमा) पुगेको उल्लेख छ।
फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिएको छ ।