Notification

×

Iklan

Iklan

प्रचण्ड र बाबुराम ‘सिद्धिएको’ विप्लवको दावी

Monday, March 8, 2021 | March 08, 2021 WIB Last Updated 2021-12-30T03:23:36Z

बेनी 

फागुन २४





नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्ना पूर्व सहकर्मीहरु प्रचण्ड र डा. बाबुराम भट्टराई राजनीतिक रुपमा ‘सिद्धिएको’ विचार व्यक्त गरेका छन् । पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक गृहजिल्ला पुगेका विप्लवले यस्तो दावी गरेका हुन् । 


अखिल नेपाल महिला संघ क्रान्तिकारी, कपिलवस्तुको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता विप्लवले प्रचण्ड र बाबुराम गलत बाटोमा रहेको र राजनीतिक रुपमा सिद्धिएको टिप्पणी गरेका हुन् ।


बेपत्ता योद्धा र किसानको मुद्दालाई बीचैमा छाडेर प्रचण्डले माधव नेपाललाई कमाण्डर मानेर हिँड्नु राजनीतिक रुपमा सिद्धिएको प्रमाण भएको बताउँदै महासचिव विप्लवले भने, “उहाँहरु हिडेको बाटो गलत छ। देश र जनताको हितमा छैन ।” 


प्रचण्डसँग एकता नगर्न आफुहरुले एमालेलाई सुझाव दिए पनि त्यसको बेवास्ता गरिएको बताउँदै उनले भने, “त्यतिबेला एमालेका साथीले हाम्रा कुरा सुन्नुभएन । एकता भयो। जनताले भोट दिए। उनीहरु खुसी थिए । तर जनताले सोचेको भएन। त्यस्तो जनमत र समर्थन जनताले दिँदा पनि परिणाम के भयो भन्दा सरकार बनाएको एक वर्षपछि लफडा सुरु भयो ।” किसान, मजदुर, युवा, सुकुम्वासी र स्वाधीनताका लागि भन्दा सत्ताको लडाइँका लागि लागेकाले एमाले र माओवादीको एकता एक अर्कालाई नङ्ग्याउने तहमा झरेको विप्लवको भनाइ थियो ।


प्रचण्डले आफूहरुलाई २० वर्ष कसैले हल्लाउन सक्दैन भनेको स्मरण गर्दै विप्लवले भने, “हामीले छोडेपछि २० महिना पनि लागेन सिद्धिन ।” कुनै बेला प्रचण्ड उभिँदा देश हल्लिने कुरा सत्य भएको बताउँदै विप्लवले भने, “प्रचण्ड उभिँदा देश हल्लिने कुरा कुनै बेला सत्य थियो । किनकि त्यतिबेला हामी सबै तयार थियौं । तर आज प्रचण्डजी कहाँ पुग्नुभयो ?” आफूहरुले किसान, युवा, मजदुरको कुरा उठाउँदा पार्टी फुटाउन खोजेको आरोप लगाइएको पनि विप्लव स्मरण गरेका थिए ।


एक फरक प्रसङ्गमा बोल्दै महासचिव विप्लवले माओवादी लडाकु व्यवस्थापनमा भएको भ्रष्टाचारको विषय उठाए । “एउटा गम्भीर कुरा २० हजार जनमुक्ति सेनाको हिसाबमा भ्रष्टाचार भएको भन्ने आएको छ । हामीले त्यतिबेला हिसाब माग्दा चुप लाग्न भनियो,” विप्लवले भने, “लडाकुको ५ हजार काटिएको पैसा खै ? १९ अर्ब खाएको चर्चा बजारमा छ । कसले खायो त्यो पैसा ?”


प्रचण्ड र बाबुरामले जस्तो राजनीति आफुहरुले नगर्ने स्पष्ट पार्दै नेता विप्लवले देश लुटेर खाने, बेचेर खाने दलालविरुद्ध सधैं लडाइँको मैदानमा उत्रिने प्रतिबद्धता जनाएका थिए ।

 

×
Berita Terbaru Update