Notification

×

Iklan

Iklan

म्याग्दीमा ६४औं राष्ट्रिय सहकारी दिवस मनाइयो

Friday, April 2, 2021 | April 02, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

चैत २०




हिमाली जिल्ला म्याग्दीमा ६४औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघ म्याग्दीको आयोजनामा विविध कार्यक्रमहरुको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाइएको हो । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारा तय भएको यस वर्षको सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघले सरोकारवालाहरुका बीचमा बृहद् अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको थियो ।




शुक्रबार सहकारी दिवसको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले छरिएर रहेको पुँजीको सङ्कलन, आम नागरिकको आर्थिक पहुँच र राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा राखेका थिए । तीनखम्बे अर्थनीतिअन्तर्गत नेपालले सहकारी क्षेत्रलाई विशेष महत्व दिएको चर्चा गर्दै केसीले सहकारी क्षेत्र पनि अब प्रविधिमैत्री बन्न आवश्यक भएको बताए ।


डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले म्याग्दीका सहकारीहरु उत्पादनतर्फ भन्दा बचत र ऋणको कारोबारमा केन्द्रित भैरहेको पाइएको भन्दै कृषि, वन र जडिबुटीसँग सम्बन्धित वस्तुको उत्पादन तथा प्रवद्र्धनमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान गर्न सक्ने सुझाव दिएका थिए ।




जिल्ला सहकारी संघका पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले सहकारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पुरा गर्न सहयोग गर्ने धारणा राखे । सहकारीमाथि अनावश्यक कर थोपर्न नहुने धारणा राख्दै अध्यक्ष श्रेष्ठले सहकारीलाई उत्पादनमूलक बनाउनेतर्फ सरकार र निजी क्षेत्रले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औंल्याए । 


यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुुर कटुवालले सहकारीहरुको शेयर पुँजी, तिनले गर्दै आएको लगानी वा कारोबार, खराब ऋण वा असुली आदिलाई आधार मानेर जिल्ला सहकारी संघले सहकारीहरुको सूचीकरण र वर्गीकरण गर्नुपर्ने विचार व्यक्त गरेका छन् । संघले गर्ने वर्गीकरण र मूल्याङ्कनलाई आधार मानेर नियामक निकायहरुले आवश्यक कार्वाही वा प्रोत्साहनको व्यवस्था गर्नुपर्ने पनि अध्यक्ष कटुवालको धारणा थियो ।




सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ, म्याग्दीका सचिव गोरखनाथ सुवेदीले वैदिक कालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा नागरिकको जीवनमा सहकारिताको भावना कायम रहेको र यस्तो आधार उपनिषददेखि नेपालको नयाँ संविधानभित्र भेट्न सकिने बताएका थिए । सहकारी ऐन २०७४ को मूल मर्मअनुसार नेपालमा सहकारीहरु गाभिने अभियान शुरु हुनु सकारात्मक पहलकदमी भएको बताउँदै सचिव सुवेदीले यसलाई वस्तुनिष्ठ ढङ्गबाट तार्किक निष्कर्षमा पु¥याउनुपर्नेमा सरोकारवाला निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा बेनी नगरपालिकाको सहकारी विभाग प्रमुख कुमार रिजालले सहकारी संघसंस्था सञ्चालनसम्बन्धी भएका नीतिगत र कानुनी व्यवस्था, म्याग्दीमा सञ्चालित सहकारीहरुमा देखिएका समस्या र नगरपालिकाले गरिरहेको सहजीकरणबारे जानकारी गराएका थिए । 




जानेर वा नजानेर सहकारी सञ्चालकहरुबाट विभिन्न खाले गल्ती तथा कमजोरी हुने गरेको अनुभव सुनाउँदै रिजालल यसबारे सहकारीका सञ्चालकहरुले सम्बन्धित निकायमा पुगेर आवश्यक जानकारी लिनुपर्ने सुझाव दिए । 


सहकारी दिवसको अवसरमा संस्थाले पूर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार पुष्पा पुनलाई दोसल्ला, खादा, अबिर तथा माला र सम्मानपत्रसहित सम्मान गरेको थियो । 


सो अवसरमा दिदीबहिनी सहकारीले मृगौलापीडित रघुगंगा गाउँपालिका–४, दग्नामका अजय परियारलाई मुठ्ठीदानबाट सङ्कलित नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेको छ । 


कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष ज्ञानेन्द्र सुवेदीको स्वागत र सचिव ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो । 



×
Berita Terbaru Update