Notification

×

Iklan

Iklan

कोरोना संक्रमितका लागि बेनी अस्पतालमा अक्सिजनसहितको आइसोलेसन

Sunday, May 16, 2021 | May 16, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

 बेनी

जेठ ३




कोरोना संक्रमण भएका विरामीलाई लक्षित गरी सदरमुकामको बेनी अस्पतालमा आवश्यक सुविधासहितको आइसोलेसन कक्ष सञ्चालनमा आएको छ । जिल्लामा संक्रमणका विरामी बढ्दै जाँदा अस्पतालको निर्माणाधीन भवनमै अक्सिजनसहितको २० शैयाको आइसोलेसन आइतबारदेखि सञ्चालन भएको हो ।


बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले नगरपालिकासहित जिल्लाभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नयाँ व्यवस्था गरिएको जानकारी दिए । गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र बेनी नगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको अस्पताल व्यवस्थापनले आइसोलेसन कक्षका लागि यसअघि प्रयोग गरिएका शैयालगायतका आवश्यक सामग्री समेत उपयोग गरेको अध्यक्ष कटुवालले बताए । 




कोरोना भाइरसको पहिलो लहर शुरु हुनेक्रममा सदरमुकाम बेनीको खुल्ला मञ्चस्थित शैक्षिक तालिम केन्द्रको भवनमा आइसोलेसन केन्द्र सञ्चालन गरिएको थियो । तर, यसपटक भने तत्कालको समस्या टार्न अस्पतालको निर्माणाधीन भवनका ५ ओटा कोठालाई आइसोलेसन कक्षका रुपमा रुपान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ । “अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट सोझै विरामीको बेडसम्मै पाइपबाटै अक्सिजन पठाउने व्यवस्था गरिएको छ,” अध्यक्ष कटुवालले भने, “आपत्कालीन उपचारको आवश्यक व्यवस्था भएकोले संक्रमितहरु आत्तिनुपर्ने अवस्था छैन ।”


देशका ठूला अस्पतालहरुमा अक्सिजनको हाहाकार भैरहँदा गण्डकी प्रदेशका बेनी अस्पताललगायतका ११ जिल्लाका अस्पताललाई भने अक्सिजन अभाव खेप्नु परेको छैन । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक र प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमात्रै अक्सिजन प्लान्ट स्थापना गरिएको थियो ।


×
Berita Terbaru Update