बेनी
जेठ ६
निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटाले ५०८८ मतभार पाएर जित हासिल गर्दा बादलले भने ४०१४ मतभार प्राप्त गरेका छन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले समर्थन गरेको थियो ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकोमा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।
त्यसैगरी वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत प्राप्त गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. देवकोटा संघीय शासन प्रणालीबारे दख्खल राख्ने विज्ञका रुपमा स्थापित छन् ।