Notification

×

Iklan

Iklan

म्याग्दीका पुनको नाउँमा बेलायतमा रेलसेवा सुरु

Thursday, June 24, 2021 | June 24, 2021 WIB Last Updated 2022-07-30T07:51:12Z

बेनी

असार १०



भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतको राजधानी लन्डनमा रेल सेवा सुरु भएको छ । बिहीबार लन्डनको प्याडिङ्टनमा आयोजित एक समारोहबीच पुनका छोरा र छोरीले उक्त रेलसेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा अभिनेत्री एवं गोर्खाली नेपाली सैनिकका बारेमा आवाज उठाउँदै आएकी अभियन्ता जोआना लुम्ले समेत उपस्थित थिइन् ।




ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सेवाको शुभारम्भ गरेका थिए ।


कार्यक्रममा सहभागी गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोर्खालीसँग काम गर्न पाउँदा खुशी मिलेको बताए । पुनको नाममा रेल सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिएका अध्यक्ष बिलले नेपालमा रहेका गोर्खाली सेनाका परिवार कोभिड १९ को जोखिममा रहेको भन्दै नेपाललाई खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए ।




सो समारोहमा बोल्दै अभिनेत्री जोअना लुम्लेले पुनसँगको भेटबारे स्मरण गरिन् । आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् । भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् ।


दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको लुम्लेले बताइन् ।


सो अवसरमा गोरखा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लण्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । भिसी पुनको नाम कुँदिएको रेल लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सञ्चालन हुनेछ ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जन्मिएर बेलायती सेनामा भर्ती भएका तुलबहादुर पुनले बर्मासँगको लडाइँमा सहभागी हुँदा उत्कृष्ट काम गरेको भन्दै सन् १९४४ जुन २३ मा भिक्टोरिया क्रस पाएका थिए ।


×
Berita Terbaru Update