बेनी
साउन ५
राष्ट्रिय युवा संघ, म्याग्दीले वृक्षारोपण गरेको छ । ‘सुरक्षा प्रकृतिको, संरक्षण सन्ततिको’ भन्ने नारासहित शनिबार बेनी नगरपालिका ६ महारानीथान क्षेत्र आसपासको घोर्लास पाखोमा वृक्षारोपण गरिएको हो ।
आयोजकका अनुसार बृहत वृक्षारोपण अभियानका लागि केन्द्रीय तहबाटै अभियान सञ्चालन गरिएको हो । युवा संघको केन्द्रीय कमिटीले थालेको अभियानअनुसार गएको असार १८ गतेदेखि साउन ७ गतेसम्म देशैभर विभिन्न जिल्लाहरुमा बृहत वृक्षारोपण अभियान सञ्चालन भैरहेको छ । सोही अभियानअन्तर्गत म्याग्दीमा पनि वृक्षारोपण गरिएको हो ।
घोर्लास पाखो क्षेत्रमा धुपी, सल्ला, चाँप, अम्रिसो, बाँस, ईपिल–ईपिल, नेपियर, रायखन्यु र खयरलगायत विभिन्न प्रजातिका २ सयवटा विरुवाहरु रोपिएको राष्ट्रिय युवा संघ म्याग्दीका सचिव शिशिर शाहीले जानकारी दिए । साउन ७ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको पनि सचिव शाहीले बताए ।
वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलले राजनीतिक आन्दोलनसँगै युवा संघले सामाजिक रुपान्तरणका लागि रचनात्मक कार्यक्रम गर्दै आएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको वृक्षारोपण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य प्रवीण शाही, नेपाल खेलकुद महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश सचिव नारायण जिसी, बेनी नगरपालिका ६ अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, नगर कार्यपालिका सदस्य टकसरा राना र बेनपा ७ बेनीका वडा सदस्य शर्मिला किसानको उपस्थिति थियो।
वृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका उपाध्यक्ष विजय घर्तीको अध्यक्षता र सचिव शिशिर शाहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

