बेनी
साउन ७
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औं स्मृति दिवसमा बेनीमा श्रद्धाञ्जली एवं छलफल कार्यक्रम गरिएको छ । नेकपा (एमाले) म्याग्दीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा एमाले, म्याग्दीको पार्टी कार्यालय, शहीदस्मृति भवनमा आयोजित श्रद्धाञ्जली सभामा संविधान सभाका सदस्य एवं पूर्वसांसद नवराज शर्मा, गण्डकी प्रदेश सभा सदस्य एवं निवर्तमान सामाजिक विकास मन्त्री नरदेवी पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
छलफलमा बोल्दै संविधान सभा सदस्य नवराज शर्माले राजनीतिक चलखेलबाट पार्टीको सरकार विस्थापन गर्न नसक्ने अवस्था आएपछि अदालतको परामादेशबाट सरकार गिराउने खेल भएको विचार व्यक्त गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा समय समयमा प्रायोजित संकट सिर्जना हुने गरेको स्मरण गर्दै नेता शर्माले नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका बारेमा पनि यस्तै भ्रम छर्ने काम भएको स्मरण गरेका थिए ।
सोही कार्यक्रममा बोल्ने वक्ताहरुले सही नीति, जनताको लागि काम गर्ने ईच्छाशक्ति भएको नेतृत्व र मजबुत संगठनका कारण नेकपा एमालेले इतिहाहसमा पटकपटक षड्यन्त्रको मामना गर्नुपरेको विश्लेषण सुनाएका थिए ।
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टीभित्र देखिएको पछिल्लो समस्याले केही अन्योल सिर्जना गरेको भए पनि पुष्पलालले स्थापना गरेको र मदन भण्डारीले दिशानिर्देश गरेको नेकपा एमालेको विचारलाई कसैले हल्लाउन नसक्ने धारणा राखेका थिए ।
पुष्पलालको फोटोमा माल्यार्पण र सम्मान गरिएको कार्यक्रममा एमाले म्याग्दीका नेतृत्व तहका नेताहरुका साथै विभिन्न जनवर्गीय संगठनका नेताहरुको सहभागिता थियो ।

