बेनी
साउन ६
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले वर्षायामको बाढीपहिरो र अन्य कारणले घरबारबिहीन परिवारलाई जस्तापाता सहयोग गर्नुपर्ने बताएकी छिन् । यस वर्षको मनसुनले बाढीपहिरोले पु¥याएको क्षतिको अवस्था बुझ्न मंगलबार म्याग्दी आएकी मन्त्री गुरुङले यस्तो विचार व्यक्त गरेकी हुन् ।
मन्त्री भएपछि पहिलापटक म्याग्दी आएकी मन्त्री अधिकारीले बाढी पहिरोबाट घरबारविहिन बनेका तथा जोखिममा परेकाहरुलाई त्रिपालको सट्टा जस्तापाता उपलब्ध गराउनुपर्ने बताइन् । यसका लाग स्थानीय सरकारसँग बजेट अभाव भए प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिँदै उनले पीडित परिवारलाई सहयोग गर्दा जस्तापाता वितरणमा जोड दिन सुझाएकी थिइन् ।
प्रदेशले सबै स्थानीय तहलाई पाँचलाख रुपैयाँका दरले बजेट उपलब्ध गराइसकेको जानकारी गराउँदै मन्त्री अधिकारीले आवश्यकता अनुसार थप बजेटको व्यस्था हुने आश्वाससमेत दिएकी छिन् ।
सोही अवसरमा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बेनी अस्पतालमा बनिरहेको भवन सम्पन्न गर्न ढिलासुस्ती भएको र म्याग्दी जिल्लाबासी एवं पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारण नागरिकको स्वास्थ्य उपचारको मुख्य थलोमा ढिलासुस्ती हुँदा समस्या भएकोतर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले यस वर्षको मनसुन सुरु भएपछि म्याग्दी जिल्लामा अहिलेसम्म २ जनाको मृत्यु, ६ जना घाइते, ८९ घर पूर्ण क्षति र २० घर उच्च जोखिममा परेको जानकारी गराएका थिए । गतवर्ष २ सय ४७ घर बाढी पहिरोबाट क्षति भएकोमा ४० वटा घर मोनामार्फत निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकिएको अवस्थामां १ सय ८५ घर निर्माणका लागि सम्झौता भएर पहिलो किस्ता रकम वितरण भैसकेको पनि प्रजिअ अधिकारीले जानकारी गराएका थिए ।