बेनी
असार २९
प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहबीच मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । राष्ट्रपति भण्डारीले आजै दिउँसो देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।
ओली सरकारको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सोमबार वदर गरेको सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सर्वोच्चको आदेश अनुसार, राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
देउवा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका छन् । यसअघि उनी २०५२, २०५८, २०६१ र २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
यसैबीच देउवा सरकारमा सहभागी चार जना मन्त्रीले पनि आजै शपथ खाएका छन् । शपथ लिने मन्त्रीमध्ये नेपाली काँग्रेसबाट बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्कीले क्रमशः गृह र कानुन मन्त्रीका रुपमा तथा माओवादी केन्द्रका तर्फबाट नेताहरु जनार्दन शर्मा र पम्फा भुषालले क्रमशः अर्थ र ऊर्जा मन्त्रीका रुपमा शपथ खाएका हुन् ।