बेनी
असोज १४
पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा तोकिएको भन्दा बढी शूल्क असुल्ने प्रयोगशालालाई २४ घन्टाभित्र शूल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) ले गरेको निर्णय सुनाउँदै बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन् । तोकिएको समयभित्र शूल्क समायोजन नगरे प्रयोगशाला परीक्षणको स्वीकृति खारेज गरिने निर्णय भएको गौतमको भनाइ थियो ।
गौतमका अनुसार गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार आठवटा ल्याबले बढी शुल्क लिएर परीक्षण गरिरहेको पाइएको छ । “बढी शुल्क लिएका प्रयोगशालालाई एकपटकका लागि चेतावनी दिने र २४ घन्टाभित्र तोकिएको शूल्क समायोजन नगरे प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको छ,” प्रवक्ता गौतमले भने ।
बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, सौर्या हेल्थकेयर छन् ।
२८ भदौको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले देशभरका सबै प्रयोगशालाले पिसिआर परीक्षण गर्दा बढीमा दुई हजार शुल्क मात्र लिन पाउने तोकेको थियो ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५५९ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ७७ हजार ८१७ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ भने पछिल्लो २४ घन्टामा १०५७ जना डिस्चार्ज भएका छन् ।
