बेनी
असोज १४
नेपालमा भएका धेरैजसो बलात्कारका घटना चिनेजानेकाहरुबाट हुने गरेको पाइएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त जानकारी गराएका हुन् ।
महानिरीक्षक थापा क्षेत्रीका अनुसार ८२.२७ प्रतिशत बलात्कारसँग सम्बन्धित घटना आफन्तबाटै हुने गरेको पाइएको छ ।
थापाका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४ हजार ८७० वटा जबर्जस्ती करणीको घटना भएको छ । यसबाट ४ हजार ९१९ जना पीडित छन् । यो तथ्याङ्कमा प्रहरीमा दर्ता भएका केसहरुमात्रै समावेश रहेको थापाले बताए ।
महानिरीक्षक थापाका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका घटना प्रदेश १ मा भएको छ । त्यसपछि प्रदेश ५, प्रदेश २ र कर्णाली प्रदेश रहेका छन् ।
महानिरीक्षक थापाले जबरजस्ती करणीमा संलग्नको आरोप लागेकामध्ये ८० प्रतिशत पक्राउ परेका र २० प्रतिशत फरार रहेका छन् । फरारहरुको खोजी हुन नसक्नुमा सीमावर्ती क्षेत्रबाट भारततिर भाग्नु मुख्य कारण रहेको थापाको भनाइ थियो ।
सोही बैठकमा सहभासगी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको धारणा राखेका थिए ।
‘सवा २०० देशहरुको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौंं’ गृहमन्त्री थापाले भने ।