बेनी
असोज ७
बेनी नगरपालिका–३ का कोरोना सङ्क्रमित युवक पिसिआर परीक्षण रिपोर्ट आउनुभन्दा पहिल्यै घरमा पुगेको पुष्टि भएसँगै तिनको परिवार र आफन्तलाई होम क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका ती यूवा पिसीआर परिक्षणको लागि स्वाब सङ्कलन भएपछि एक दिन घरमा समेत पुगेको पुष्टि भएपछि उनका परिवार र आफन्तलाई ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका हुन् । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुधेखोलाका ३० वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
‘कन्टयाक्ट ट्रेसिङ’का क्रममा उनी विदेशबाट आएपछि आफ्नो घरमा समेत पुगेको खुलेपछि उनका घरपरिवार र उनीसितको सम्पर्कमा आएकालाई होम क्वारेनटाइनमा राखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए । घरबाहेक अन्य स्थानमा नगएको देखिएको र उनको सम्पर्कमा रहेका सबैलाई होम क्वारेनटाइनमा बस्न अनुरोध गरिएको छ ।
“हामी कन्ट्याक्ट ट्रेसिङमै छौं, यो नियमित प्रक्रिया भएकोले नआत्तिन अनुरोध गरेका छौं,” निमित्त प्रमुख लम्सालले भने । उनका अनुसार सङ्क्रमित युवकको सम्पर्कमा पुगेका व्यक्तिको स्वाब सङ्कलन गर्ने र परीषणका लागि पठाउने तयारी भैरहेको छ ।
म्याग्दीमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ५० पुगेकोमा ४९ जना यसअघि नै निको भएर घर फर्किसकेका छन् ।