Notification

×

Iklan

Iklan

“श्रम सम्झौता नगरी घरेलु कामदार नपठाऊ”

Monday, September 21, 2020 | September 21, 2020 WIB Last Updated 2021-12-30T03:26:30Z


६ असोज २०७७


खाडी मुलुकमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतहरुले श्रम सम्झौता नगरी घरेलु कामदार नपठाउन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा भर्चुअल संवादमा सहभागी विभिन्न देशका राजदुतले सरकारको ध्यानाकर्षण गराएका हुन् ।


घरेलु कामदारका रुपमा खाडी मुलुकमा जानका लागि नेपालले २०७२ सालदेखि रोक लगाएको छ । तर, नेपालीहरु भारतको बाटो हुँँदै साउदी अरेबिया, ओमन, युएईलगायतका देशमा घरेलु कामदारका रुपमा गइरहेका छन् ।


कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले सरकारले भारतको बाटो हुँदै जानेहरुलाई रोक्ने गरी काम गर्नुपर्ने धारणा राखे । “घरेलु कामदारका रुपमा आएकाहरुले सामान्य समस्या पर्दासमेत सम्पर्कमा आउँदैनन् । साह्रै गारो भएर गुहारै माग्नुपर्ने अवस्थामा मात्रै फोन गर्छन्,” भारद्वाजले भने ।


सरकारले कामदार पठाउँदा सीप सिकाएर, सुरक्षाको ग्यारेन्टी गराएर र श्रम सम्झौता गरेर मात्रै विदेश पठाउने गरी ठोस रुपमा कानुनी व्यवस्था समेत गर्न नसकेको उनको टिप्पणी थियो ।


त्यस्तै कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले पनि अशिक्षित र सामान्य अंग्रेजी भाषासमेत नजान्नेहरु घरेलु कामदारका रुपमा अवैध बाटो भएर जाँदा साह्रै समस्या भएको बताए । शारीरिक, मानसिक समस्या भोग्नुपर्ने, लामो समयसम्म काम गर्नुपर्ने, आफन्तकामा समेत गएर काम गरिदिनुपर्ने, परिवारसँग महिनामा एक पटकसमेत कुरा गर्न नपाउने जस्ता समस्या कुवेतमा रहेका नेपाली घरेलु कामदारहरुले भोग्नुपरिरहेको उनको भनाइ थियो । यस्तो समस्यामा पर्नेहरुमा अवैध बाटो भएर जानेहरु नै रहेको भण्डारीले बताए ।


बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले पनि ‘ग्यासको सिलिण्डर नै नदेखेकाहरु’ समेत घरेलु कामदारका रुपमा जाने गरेको भन्दै सीप र क्षमताकै कारण नेपालीहरुले दुख पाएको अनुभव सुनाए ।


प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पछिल्लो समय खाडी मुलुकमा रहेका नेपालीहरुको समस्याको बारेमा छलफल गरिरहेको छ । सरोकारवाला र सरकारपक्षसँग छलफल गरेर समिति निचोडमा पुग्ने समिति सभापति विमल श्रीवास्तवले जानकारी दिएका छन् ।


×
Berita Terbaru Update