म्याग्दीलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्न ध्यानाकर्षण
असोज १३
गण्डकी प्रदेशसभाका सदस्य विनोद केसीले म्याग्दीलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार गण्डकी प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले प्रदेश र संघ सरकारको ध्यानाकर्षण गराएका हुन् । म्याग्दी क्षेत्र (क) बाट निर्वाचित केसीले संघीय सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई विपद्ग्रस्त जिल्ला घोषणा गर्ने तर म्याग्दीलाई बेवास्ता गरेकोमा असन्तुष्टि जनाएका थिए ।
“संघीय सरकारको घोषणा सच्च्याउन आवश्यक छ,” प्रदेश सभामा आफ्नो विचार राख्दै सांसद कोसीले भने, “बाढीपहिरो र कटानबाट प्रभावित नागरिकलाई राहत र पुनस्र्थापनाका लागि प्रदेश सरकारले पनि म्याग्दीलाई अतिप्रभावित जिल्ला घोषणा गर्न आवश्यक छ ।”
आफ्नो मन्तव्यका क्रममा सांसद केसीले पहिरोले ठाउँठाउँमा चिरा परेको जोखिमयुक्त बस्तीको अध्ययनका लागि भूगर्भविद्सहितको टोली तत्काल खटाउने व्यवस्था गर्न पनि माग गरेका थिए ।
यस वर्ष म्याग्दीमा बाढी, पहिरो र कटानबाट ३१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन् । त्यस्तै १७४ परिवार घरबासविहीन भएका छन् । यसबाहेक खानेपानी, सडक, विद्युत्लगायतका भौतिक संरचनाको समेत उत्तिकै क्षति भएको छ ।
यही असोज ६ गते बसेको मन्त्रिपरिषदको बैठकले सिन्धुपाल्चोक र छिमेकी जिल्ला बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।