Notification

×

Iklan

Iklan

पुनर्निर्माण प्राधिकरणको समय एक वर्ष थप्न सिफारिस

Monday, September 21, 2020 | September 21, 2020 WIB Last Updated 2021-12-30T03:26:30Z




६ असोज २०७७

भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यअवधि एक वर्ष थप्न सिफारिस गरिएको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बेलुकी बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप गर्न मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षको अवधिमा पुनर्निर्माणमा महत्वपूर्ण प्रगति भए पनि कोरोना भाइरसको महामारीका कारण निजी आवास र धरहरालगायतका संरचनाको  पुनर्निर्माण प्रभावित भएकोले समय थपको सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।


निर्देशक समितिको बैठकले गरेको सिफारिसअनुसार थपिएको समयावधिको करिब साढे छ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका काम गर्नेछ । बाँकी अवधि अर्थात् पाँच महिना १० दिन लेखा परीक्षण, फरफारक र सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी रहेका कार्य जिम्मेवारीका साथै पुनर्निर्माणका दस्तावेज हस्तान्तरण गर्नेछ ।


निर्देशक समितिको निर्णयानुसार चालु आर्थिक वर्ष २०७७÷०७८ भर निजी आवाससम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नेगरी निजी आवास पुनर्निर्माण लाभग्राहीले प्राप्त गर्ने अनुदानको समयसीमा प्राधिकरणको कार्यकारी समितिले तय गर्नेछ । प्राधिकरणको कार्यावधि २०७७ पुस १० गते सकिँदै थियो ।


समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष ओलीले बन्दाबन्दी तथा निषेधाज्ञाका बाबजुद पुनर्निर्माणका कार्यलाई उत्साहजनक ढंगले अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै प्राधिकरणलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षभित्र तोकिएका कार्य सम्पन्न गर्न निर्देशन दिँदै प्राधिकरणले गरेका कामको अभिलेखीकरणमा यथोचित ध्यान दिन सुझाव पनि दिए ।


बैठकमा निर्देशक समितिका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्यसचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो ।


×
Berita Terbaru Update