२ असाेज २०७७
यस वर्ष अाजदेखि मलमास शुरू भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार शुक्रबारदेखि शुरू भई असाेज ३० गतेसम्म याे कायम रहनेछ ।
ज्योतिष शास्त्र अनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास पर्ने गर्छ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ।
ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा गर्दै सङ्क्रान्ति नभएको महिनालाई अधिकमास वा मलमास भनेका छन् ।
सबै मास अर्थात् महिनाका निश्चित देवता हुन्छन् । तर मलमासकाे कुनै देवता नभएकोले यसलाई पुरूषाेत्तम मास पनि भनिन्छ । महिनाहरूकाे "मल" (विकार/फाेहाेर) भन्ने अर्थमा मलमासलाई बुझ्ने गरिन्छ । पुरूषाेत्तम माहात्म्यमा उल्लेख भए अनुसार मलमास (महिना)को देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे। गुनासो सुनेर भगवान् श्रीकृष्णले मेरै नामबाट तिमीलाई अबदेखि सबैले चिन्नेछन् भनेपछि मलमासलाई पुरुषोत्तममास पनि भन्न थालिएको हाे ।
मलमास अर्थात् अधिकमासकाे अवधिभर अाफुले दैनिक रूपमा गर्ने नित्यकर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ तर नयाँ व्रतको शुरुआत गर्नु नहुने नियम छ।
मलमासको समयमा विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश, र गर्भाधान जस्ता काम गर्नुहुँदैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ।
यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो। असोज महिनामै अधिकमास भने विसं २०५८ मा परेको थियो। १९ वर्षपछि फेरि असोज महिनामै मलमास परेको छ।