आज नेपालकाे संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको दिनको सम्झनामा याे दिवस मनाउन लागिएको हाे । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा पनि मनाउने गरिन्छ ।
यस अवसरमा काठमाडौंकाे सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायतको सहभागिता रहने बताइएको छ ।
यसैबीच म्याग्दीमा पनि छैटौं संविधान दिवस मनाउने निर्णय संविधान दिवस मूल समाराेह समितिले यसअघि नै गरिसकेको छ । कोरोना संक्रमणको जोखिमका कारण यश वर्ष सीमित सहभागितामा दिवस मनाउन लागिएको हो ।
सङ्क्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै सरकारले कार्यालय र संघसंस्थामा राष्ट्रिय झण्डा फहराउने सर्वसाधारण नागरिकले घरघरमा दिप प्रज्ज्वलन गरि संविधान दिवस मनाउने व्यवस्था गर्न यसअघि नै मातहतका निकायलाई निर्देशन दिएको थियाे ।
संविधान दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।
