३ असोज २०७७
छैटौं संविधान दिवसको अवसरमा म्याग्दीका विभिन्न क्षेत्रका सात जना व्यक्ति राष्ट्रपतिबाट विभूषित भएका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासबाट प्रकाशित सूचनाअनुसार विभूषित हुनेमा समाजसेवा, राष्ट्रसेवक कर्मचारी, सुरक्षा र पर्वतरोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु छन् । सुरज केसी, चक्रपाणि आचार्य, निर्मल पुर्जा, विकास थापा, डा. राजन सुवेदी, खडकसिंह नेपाली र शिवलाल शर्मा विभिन्न पदकबाट विभूषित भएका हुन् ।
नेपाल पत्रकार महासंघ म्याग्दीका निवर्तमान अध्यक्ष रहेका सुरज केसी समाजसेवाको क्षेत्रमा पनि चिनिएको नाम हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण योगदान गरेको भन्दै केसीलाई संविधान दिवसका अवसरमा राष्ट्र यशोवद्र्धक पदकबाट विभूषित गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री रहेका केसी म्याग्दीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित डिसिसिएमसीको सदस्यसमेत रहेका छन् । गत चैतमा बन्दाबन्दी (लकडाउन) शुरु भएपछि जिल्लामा कोरोना रोकथामका लागि खट्नेमध्ये केसीको नाम अगाडि आउँछ । बन्दाबन्दीका कारण अलपत्र वृद्धवृद्धा, विरामी, र शव ओसार्न समेत केसीले आफ्नो नीजि साधन प्रयोग गरेका थिए ।
संविधान दिवसको अवसरमा कीर्तिमानी आरोही निर्मल पुर्जा पनि विभूषित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दानाका पुर्जाले ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ ओटै हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । उनलाई ‘कीर्तिमय राष्ट्रदीप पदक’ प्रदान गरिएको हो ।
त्यस्तै बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा कार्यरत अधिकृत विकास थापामगरलाई प्रबल जनसेवा श्री चौथो पदक, धवलागिरी गाउँपालिका ७ ताकम घर भई नेपाल प्रहरीको निरीक्षकमा कार्यरत डा. राजन सुवेदीलाई प्रबल जनसेवा श्री चौथो पदक, पश्चिम म्याग्दीको दरबाङमा कार्यरत प्रहरी हवल्दार खड्कसिंह नेपालीलाई नेपाल प्रताप भूषणबाट विभूषित गरिएको छ ।
त्यसैगरी बेनी नगरपालिका–१० पातलेखेत घर भई हाल बुटवल महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत चक्रपाणि शर्मालाई जनसेवा भूषण तथा सिँचाइ कार्यालय म्याग्दीमा कार्यरत नासु शिवलाल शर्मालाई राष्ट्रसेवक पदक प्रदान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने विभिन्न क्षेत्रका ५९४ जना व्यक्तिलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको थियो ।
नेपालमा पहिलोपटक जनप्रतिनिधिबाट लेखिएको संविधानका रुपमा मिति २०७२ असोज ३ गते ‘नेपालको संविधान’ जारी गरिएको थियो ।
