Notification

×

Iklan

Iklan

म्याग्दीले मदन पुरस्कार पाउनु गर्वको कुरा होः शर्मा

Monday, September 21, 2020 | September 21, 2020 WIB Last Updated 2021-12-30T03:26:31Z


५ असोज २०७७

साहित्यकार ध्रुवलाल शर्मा


म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माले चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले मदन पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् । सोमबार कालञ्जर अनलाइनसँगको कुराकानीका क्रममा बोल्दै शर्माले बानियाँको उपलब्धिले म्याग्दीबासीको मात्रै नभई धौलागिरी क्षेत्रकै शिर उँचो बनाएको विचार व्यक्त गरे । 

आफुहरु सानै उमेरदेखि परिचित रहेको र पेशागत जीवनमा पनि सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै शर्माले भने, ‘चन्द्रप्रकाशजीसँग हिजोका दिनमा सहकार्य भएको सुनाउन पाउँदा म निकै खुशी छु ।’ 

लघुकथा, कथा, कविता, गजल, आदि विधामा १४ ओटा कृति प्रकाशन गरिसकेका शर्मा आफैमा साहित्यिक, शैक्षिक र सामाजिक क्षेत्रमा परिचित नाम हो । ३० वर्ष शिक्षण पेशामा रहेका शर्मा रेडक्रसका माध्यमबाट समाजसेवामा पनि क्रियाशील छन् ।  

बानियाँले मदन पुरस्कार प्राप्त गरेकोमा निकै खुशी देखिएका शर्मासँग चन्द्रप्रकाशसँगको विगतको स्मृति, म्याग्दी साहित्यिक समाजको गतिविधिलगायतका विषयमा कालञ्जर डटकमले कुराकानी गरेको छ । 

प्रस्तुत छ शर्मासँग गरिएको कुराकानीः


कालञ्जर–संवादमा तपाईंलाई स्वागत छ ।

बोल्ने अवसर दिनुभएकोमा कालञ्जर डट कमलाई धेरै धेरै धन्यवाद । 


तपाईंको अहिलेको दैनिकी कसरी चलिरहेको छ ? छोटकरीमा बताइदिनुस् न ।

शिक्षण पेशाबाट रिटायर्ड भैसकेपछि म अहिले घरमै छु । विभिन्न साहित्यिक र सामाजिक संघ संस्थाहरुका बैठक र भेलाहरुमा पनि समय दिइरहेको छु । त्यसको अलावा घरमा कृषकको रुपमा छु । यसैगरी लेखनमा पनि म उत्तिकै सकृय रहेको छु । वार्षिक रुपमा एउटा एउटा पुस्तक प्रकाशन गरिरहेको हुँदा त्यसलाई निरन्तरता दिन पनि मैले लेख्न छाड्ने कुरै भएन । यही किसिमबाट मेरो दैनिकी चलिरहेको छ ।


हजुरको पछिल्ला अप्रकाशित वा प्रकाशित केही सिर्जना छन् कि ?

मेरो पछिल्लो अप्रकाशित गजल संग्रह, हाइकु छन्, ती प्रकाशन गर्न बाँकी छन् । अहिलेसम्म मेरा १४ ओटा कृति प्रकाशित भैसकेका छन् । पछिल्लो समय लघुकथा र उपन्यासमा केन्द्रित छु । 


म्याग्दीका स्रष्टा चन्द्रप्रकाश बानियाँले मदन पुरस्कार प्राप्त गरेको कुरा थाहा पाउनु भयो ?

तपाईंले बिहान फोन गरेपछि थाहा पाएँ । खुशी लागेर तत्काल फोन पनि गरें तर वहाँ कुनै अन्तर्वार्तामा हुनुहुँदोरहेछ । पछि आफैले फोन गर्नुभयो । भलाकुसारी ग¥यौं । समग्रमा म निकै खुशी छु ।


यसलाई कसरी हेर्नुहुन्छ ?

चन्द्रप्रकाशजी र म उमेरगत हिसाबले दामली हौं । यद्यपि मभन्दा वहाँ एक डेढ वर्ष कान्छो हुनुहुन्छ । अत्यन्त मिल्ने साथी । हामी एउटै विद्यालयमा अध्ययन गर्न पाएनौं । तथापि हाम्रो परिचय बाल्यकालीन समयदेखि नै थियो । र बीचको समयमा पनि हामी सँगै भयौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको वहाँ पनि सदस्य म पनि सदस्य । संगठनको कार्यकर्ताको नाताले पनि हामी सँगै थियौं । हामी दुबै गुरु (शिक्षक) थियौं । त्यसैले पनि मैले वहाँलाई राम्ररी चिन्दछु । वहाँले ‘महारानी’ उपन्यासका लागि जुन मदन पुरस्कार प्राप्त गर्नु भो त्यसभन्दा पहिले प्रकाशित ‘पर्वत राज्यको इतिहास’ अनि गएर ‘मृत्यु संस्कार मन्थन’ आदि पुस्तक मैले अध्ययन गरिसकेको छु । र, यो ‘महारानी’ पनि म्याग्दीका पुस्तक पसलमा आउँदाको दिनमै मैले किनेर हेरें । यसले राष्ट्रिय तहको कुनै पुरस्कार पाउँछ कि भन्नेमा म आशावादी पनि थिएँ । अहिले नेपालकै प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको खबरले मेरो अनुमान यथार्थमा बदलिएको छ । तपाईंकै सञ्चारमाध्यमबाट मैले फेरि एकपटक चन्द्रप्रकाशजीलाई बधाई पनि दिन चाहन्छु । सरल भाषा, सबैले बुझ्न सक्ने प्रकारको, ऐतिहासिक विषयवस्तु समेटेको, राजा र रानीको बीचको प्रसङ्गलाई पनि आकर्षक तरिकाले र एकदम तिखो ढङ्गले वहाँले जसरी प्रस्तुत गर्नुभएको थियो त्यसमा वहाँ पूर्ण सफल हुनुहुन्थ्यो । र, मदन पुरस्कार गुठीका निर्णायक मण्डलका सदस्यहरुले पनि राम्रो निर्णय गरेका हुन् । यो पुरस्कार वहाँलाई प्रदान गर्नु एकदम ठीक थियो भन्ने मलाई लाग्छ ।


चन्द्रप्रकाश बानियाँलाई तपाईंले कसरी चिन्नु हुन्छ ?

बानियाँ सरको बारेमा मैले अलिकति त अघिल्लो प्रश्न मै सङ्केत गरिसकेको छु । वहाँलाई मैले बाल्यकालदेखि नै चिन्ने मौका पाएको छु । बानियाँको हजुरबा र मेरो बुबा दामली भएकोले हामीबीच पनि सानै उमेरदेखि भेटघाट हुन्थ्यो । वहाँ अर्थुङ्गे हुँदै बेनीतिर आउने र मेरो अध्ययन क्षेत्र पनि बेनीको प्रकाश मावि भएकोले हाम्रो बीचमा बेलाबेला भेट भैरहन्थ्यो । पछिल्लो अवस्थामा गएर म वामपन्थी आन्दोलनमा झुकाव राख्न थालेको, बानियाँजी पनि वामपन्थी झुकावतिर जानुभयो । साथै वहाँ शिक्षण पेशामा लाग्नु भयो । म पनि प्रकाश माविमा पढाउन थालें । त्यसपछि हामी विचार र साङ्गठनिक हिसाबले एउटै लाइनमा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा लागेकोले हाम्रो सम्बन्ध एकदम घनिष्ठतम थियो । त्यसबाहेक म एउटा साहित्यकर्मी, वहाँ पनि साहित्यकर्मी भएको हैसियतले पनि हामी एउटै फाँटबाट, एउटै बाटोबाट, एउटै आधारबाट हिँड्ने भएकोले नजिक भएको पायौं । 



विचार, पेशा, सङ्गठन र सिर्जनाकर्मका हिसाबले तपाईंहरु समान बाटोमा हिँड्नु भएको रहेछ । तर, चन्द्रप्रकाश बानियाँ र ध्रुवलाल शर्माबीच केही भिन्नता पनि थिए होलान् नि...

सामान्यतया हामी दुईको बीचमा समानता धेरै थिए भने असमानता थोरै थियो । जस्तै निर्वाचित सांसद भैसकेपछि वहाँको बसाइ काठमाडौंतिर हुन थाल्यो, मेरो बसाइ म्याग्दी, मोफसलतिरै भयो । त्यसपछि वहाँ राजनीतिक रुपमा पनि सांसद भैसकेपछि वहाँको दिनचर्या फरक भयो, म शिक्षण पेशामै रहें । हामीबीच कतिपय असमानता पनि छन् । आस्थाको आधारमा पनि असमानता थिए । म पहिल्यैदेखिबाट, स्पष्ट बोल्नुपर्छ नेकपा मसाललाई समर्थन गर्थें । म म्याग्दीको युनियनको पहिलो अध्यक्ष भएदेखि नै म मसालमा समर्थित, वहाँ वामपन्थी । यद्यपि नेकपा मालेको सहयोगमा वहाँले पञ्चायत कालमा वडा सदस्यमा पनि जित्नु भयो । मलाई लाग्छ करिव एक कार्यकाल जति काम गर्नुभयो होला । त्यसैले वहाँ र मेरो जुन पथ अथवा बाटो हो, केही फरक भयो । तथापि वहाँ वामपन्थी र म पनि वामपन्थी भएको हुनाले मित्रशक्तिको हैसियतले हामी हिँड्थ्यौं ।


तपाईंको विचारमा चन्द्रप्रकाश बानियाँलाई बौद्धिकता वा निरन्तरको साधना, कुन कुराले मदन पुरस्कारसम्म पु¥याएको हो ?

मलाई कस्तो लाग्छ भने चन्द्रप्रकाश बानियाँजी पहिल्यैदेखि तीक्ष्ण बुद्धिको हुनुहुन्थ्यो । वहाँले बागलुङ, काठमाडौं अध्ययन गर्ने बेला हामी सँगै हुन त पाएनौं । मेरो अध्ययन क्षेत्र र वहाँको अलग भयो । तथापि वहाँ तीक्ष्ण बुद्धिको हनुहुन्थ्यो । वहाँको व्यक्तित्व एउटा विषयमा मात्रै होइन नभई पढाइ, लेखाइ, खेलकूद आदि क्षेत्रमा उत्तिकै अगाडि आउने । भनौं न सर्वाङ्गीण क्षेत्रमा अब्बल भनेजस्तै । वंशाणुगत हिसाबले वहाँ बौद्धिक व्यक्तिको सन्तति हुनुहुन्थ्यो । दोस्रो कुरा वहाँको निरन्तरको प्रयास गर्ने, लेखाइमा लागिपर्ने हुनाले वहाँ अगाडि आउन सक्नु भयो । र नेपालकै प्रतिष्ठित मदन पुरस्कार प्राप्त गर्न सफल हुनभो भन्ने लाग्छ ।


अब अलि फरक कुरा गरौं । तपाईं अहिले म्याग्दी साहित्यिक समाजको अध्यक्ष पनि हुनुहुन्छ । म्याग्दीकै सन्तान चन्द्रप्रकाश बानियाँले हासिल गरेको उपलब्धिलाई कसरी लिनुभएको छ ?

चन्द्रप्रकाशजीले अहिले जुन मदन पुरस्कार प्राप्त गर्नु भो त्यसले हामी म्याग्देलीको मात्र नभई समग्र धौलागिरीकै शिर उच्च पार्नुभएको छ । मैले त्यसरी लिएको छु । र, हामी म्याग्दीबासी साहित्यकर्मीहरु पनि त्यस्तै महशुस गरेका छौं । । पछिल्लो समय वहाँ म्याग्दीमा नबसे पनि म्याग्दीको साहित्यलाई वहाँले राम्रोसँग हेर्नुभएको थियो । म्याग्दीबाट प्रकाशित हुँदै आएका खबरपत्रिका र साहित्यिक पत्रिकामा स्तम्भकारका रुपमा वहाँका फुटकर रचना र समसामयिक विषयमा कलम चलाएर वहाँले जिल्लाको सेवा गरिरहनु भएको थियो । यो कुरा हामीले मात्र नभई म्याग्दीको पत्रपत्रिका अध्ययन गर्ने र सामान्य चासो राख्ने सबैलाई थाहा भएको कुरा हो । म्याग्दी साहित्यिक समाजको लागि एउटा गौरवको कुरा हो । हामीले वहाँबाट प्रशस्त सहयोग पाइरहेका छौं र भोलिका दिनमा पनि वहाँले जिल्लाका लागि राम्ररी ध्यान दिनुहुनेछ भन्ने अपेक्षागर्छौं । म्याग्दीको साहित्यलाई उचाइमा लैजानका लागि हामीले वहाँको विद्वतालाई कसरी उपयोग गर्न सक्छौं भन्नेबारे पनि हामीले सोच्नुपर्ने बेला आएको छ । समग्रमा भन्दा सर्वसाधारण म्याग्दीबासी, साहित्य सर्जकहरु जस्तै म्याग्दी साहित्यिक समाज पनि बानियाँजीको उपलब्धिबाट निकै गौरवान्वित छौं ।


पछिल्लो समय म्याग्दी साहित्यिक समाज कम क्रियाशील भएको हो कि गुनासो र चर्चा सुन्ने गरिन्छ, यथार्थ के हो ? 

यो एकदमै महत्वपूर्ण प्रश्न हो भन्ने मलाई लाग्छ । साथीहरुले धेरैपटक प्रत्यक्ष भेटेर, जमघटका बेला वा फोनमार्फत् मलाई सुनाउने गरेको प्रश्न तपाईंले पनि गर्नु भो । यसका लागि हजुरलाई धन्यवाद । साथीहरुले गुनासो गर्छन् भन्ने जुन शङ्का तपाईंले व्यक्त गर्नु भो त्यो पूर्णतः सही हो । म्याग्दी साहित्यिक समाजका वर्तमान पदाधिकारी र सदस्यहरु जो हामी यहाँ छौं, जिल्लाको कुनै पनि साहित्यिक संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहभागिता जनाउने गरेका छौं । धौलागिरीमा आयोजना हुने कार्यक्रमहरु, चाहे त्यो पर्वतको पर्वत साहित्य सङ्गम होस् वा बागलुङको माधुरी साहित्य प्रतिष्ठान अथवा अरु नै किन नहुन्, सबैसँग हामीले हातेमालो गरेर क्रियाकलाप गरिरहेका छौं । यद्यपि हामीले यत्तिमै चित्त बुझाउनु हुँदैनथ्यो । धेरै साहित्यकर्मी, सर्जकहरुलाई सम्मान गर्ने, नवसर्जकहरुमा उत्साहको सञ्चार गराउने प्रकारका क्रियाकलापहरु गर्ने जस्ता हामीमाथिका दायित्व धेरै थिए । त्यसमा हामी असफल भैरहेका छौं । त्यसमा हामी पछाडि नै छौं । तर, कतिपय साथीले भनेजस्तो हामी सुतेका छैनौं, हामी क्रियाशील नै छौं । जुन विन्दुसम्म म्याग्दी साहित्यिक समाज पुग्नुपर्ने थियो, त्यहाँसम्म पुग्न नसकेको साँचो हो । 


संस्थाको आगामी योजना केही छन् कि ?

योजना छन् । सबैभन्दा पहिला हामीले संस्थाको नवीकरण गर्नुपर्नेछ । यो प्रक्रिया केही वर्षदेखि रोकिएको छ । यो सवालले हामीबीच केही व्यवधान पनि खडा गरेको अवस्था छ । आर्थिक सङ्कलनको पाटोमा अब केही कदम चाल्दै छौं । आर्थिक संकलनपछि संस्था नवीकरण, त्यसपछि नयाँ समिति गठन गर्ने र त्यसपछि नयाँ योजना र कार्यक्रमको खाका कोरेर अघि जानुपर्छ भन्ने मेरो भनाइ हो । म्याग्दी साहित्यिक समाज एउटा पुरानो संस्था हो । म्याग्दीका सबै साहित्यकर्मीहरु खटेको संस्था हो । यसले धेरैको माया पाइरहेको पनि छ । अपेक्षितरुपमा नभए पनि यसले राज्यबाट पनि धेरधोर सहयोग पाइरहेको थियो । यद्यपि पछिल्लो कार्यकालमा यो बन्द भएको छ । हामीले नयाँ कार्यसमिति गठन गरी त्यसमार्फत गाउँतहसम्म साहित्यिक आवाज पु¥याउनु पर्छ । खासगरी प्रगतिशील साहित्य, जनताको साहित्य, एउटा झुपडीमा बत्ती बाल्न नसक्नेहरुको साहित्य, जो अहिले पनि दमित, पीडित अवस्थामा तड्पिइरहेका छन् उनीहरुको पीडाव्यथालाई धेरैभन्दा धेरै साहित्यकर्मीले आवाज दिनुपर्छ भन्ने हाम्रो सोच रहेको छ ।


पछिल्लो समय समाजका अन्य क्षेत्रमा जस्तै साहित्यिक क्षेत्रमा पनि नयाँ पुस्ता जुर्मुराएर आएको छ । तपाईंको विचारमा यो पुस्तालाई म्याग्दी साहित्यिक समाजसँग जोड्न संस्थाको अबको बाटो कस्तो हुनुपर्छ?

यसमा दुबै पक्षबाट हेर्नुपर्छ जस्तो लाग्छ । अग्रजहरुले आफ्नै डम्फू बजाउने, दम्भ देखाएर नयाँ युवा अथवा नवसर्जक केही पनि होइनौ भन्ने  अनि नवसर्जकहरु पनि अहिलेको सबै जान्ने बुझ्ने हामी नै हौं भन्ने हो भने हामी दुई खेमाको कहिल्यै मिलन हुन सक्दैन । हामी फाट्न सक्छौं र अझै पिछडिन सक्छौं । अग्रजहरुले नयाँ पुस्ताका सर्जकहरुलाई कसरी अगाडि बढाउने भन्ने सोच्नुपर्छ । जो नयाँ सर्जकहरु हुनुहुन्छ, उर्वरशक्ति भएका वहाँहरुले पनि अग्रजहरुलाई सम्मान दिँदै अगाडि बढ्न प्रयत्न गर्नुपर्दछ । चन्द्रपञ्काश बानियाँ लगायतका जो अग्रज भनिने छौं, हामीले पनि नयाँ पुस्तालाई जोड्ने किसिमले पुल निर्माण गर्नुपर्नेछ । हामीले यस्तो काम गर्न सक्नुप¥यो जो एकअर्काको लागि पाच्य बन्न सकोस् । जिल्लामा क्रियाशील सर्जकहरुको पुरानो र पहिलो संगठित संस्था भएको हिसाबले समाज यसप्रति सचेत छ ।


अन्तमा थप केही केही भन्नु छ कि ?

म्याग्दी एउटा मोफसल । लाहुरेको जिल्ला । यद्यपि पर्यटकीय तथा धार्मिक दृष्टिले म्याग्दी विशिष्ट छ । तपाईंहरुले जुन कालञ्जर अनलाइन सञ्चालन गर्नुभएको छ, सर्वप्रथम त यसको निरन्तरताको शुभकामना दिन चाहन्छु । दोस्रो हामी सबै एकजुट हुन सकौं । हामीहरु विभिन्न पेशा, व्यवसायमा संलग्न रहेका कारण साहित्यसिर्जनामा ध्यान दिन पाएका छैनौं । हामी निष्कृय देखिएजस्तो लाग्नुमा यसले पनि भूमिका खेलेको छ । त्यसैले नयाँ पुराना सर्जक वा सिर्जनामा लाग्न चाहने साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने हामीले साहित्यको अध्ययन र लेखनमा थोरै भए पनि समय छुट्ट्याउने गरौं । आफ्नो क्षमता र रुचि हुँदाहुँदै पनि कतिपयले साहित्य क्षेत्रमा क्रियाशील हुन सक्नु भएको छैन भने त्यो आफुमाथिको धोका हो भन्ने मलाई लाग्छ । विज्ञान, प्रविधिको तिव्र विकास भैरहेको अहिलेको समयमा देशको राजधानी वा काठमाडौंमै बसेरमात्र साहित्य सिर्जना गर्न सकिन्छ भन्ने भ्रम कसैले पाल्नु भएन । म्याग्देली स्रष्टा चन्द्रप्रकाश बानियाँले प्राप्त गरेको उपलब्धिबाट हामीले सिक्ने कुरा पनि यही हो ।





×
Berita Terbaru Update