अाज भगवान् विश्वकर्माकाे जन्मजयन्तीकाे अवसरमा विश्वकर्मा पूजा गरिँदैछ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने प्रचलन छ ।
नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।
यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।
पाैराणिक अाख्यान अनुसार अादिस्रष्टा ब्रह्माजीले खासगरी भाैतिक निर्माणकाे जिम्मेवारी आफ्नो वंशज विश्वकर्मालाई आदेश दिएका थिए । यसैले भगवान् विश्वकर्मालाई देवशिल्पी पनि भन्ने गरिन्छ ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेकाे चर्चा विभिन्न ग्रन्थमा उल्लेख छ ।
अादिग्रन्थ ऋग्वेदमा ११ अाेटा ऋचाहरूमार्फत् भगवान् विश्वकर्मा काे चर्चा गरिएका कारण पनि उनको महत्व कति थियो भन्ने अनुमान गर्न सकिन्छ ।
