२ असाेज २०७७
सहकारी संघ संस्थाहरूकाे साधारणसभा भर्चुअल माध्यमबाट गर्न सकिने सहकारी विभागले जनाएको छ । बिहीबार एक सूचना जारी गरी विभागले यस्तो निर्देशन दिएको हाे । १३ बँदामा समेटिएको सूचनामा सहकारी संघ संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने पनि उल्लेख छ ।
कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न पनि विभागले सबै सहकारीलाई सुझाएकाे छ । काेराेना भाइरसकाे महामारी कारण समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ ।
सहकारी ऐन-२०७४ अनुसार सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र पुस मसान्तभित्र साभारणसभा गर्नुपर्ने व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत पुर्याउनु पर्ने प्रावधान रहेको तर काेराेना महामारीको कारण मानिसको जमघट हुने खालमा कार्यक्रममा तत्कालका लागि सम्भव नभएकोले विभागले भर्चुअल साधारणसभाकाे विकल्प राेजेकाे हाे ।
विभागकाे सूचना अनुसार साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने छ । साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन सकिने पनि विभागकाे सूचनामा उल्लेख छ ।