बेनी
कात्तिक १५
![]() |
| डा. अनुप सुवेदी |
डाक्टरको सल्लाह
कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरू बेलाभन्दा फरक, बढी टाउको, जिउ दुख्ने वा जिउ गल्ने, कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै पिसिआर परीक्षण गरिहाल्नु अत्यन्त जरुरी छ ।
कारणहरूः
१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ, र अनावश्यक र सम्भवतः हानिकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन । लक्षण शुरु भएको ८–९ दिनमा अक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि पिसिआर पहिल्यै नगरेको हुनाले फेरि पिसिआर पठाएर नतिजालाई थप १–२ दिन कुर्दाकुर्दै झन् सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो ।
२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँस्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ । प्रायः बिरामीले १–२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, पिसिआर गर्न आवश्यक ठान्दैनन् । तर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना भने लक्षण शुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै पिसिआरको पहिचान गर्ने क्षमता धेरै घट्छ । झन् दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना धेरै कम हुन्छ । र, सही उपचार नपाउने, गलत उपचार पाउने सम्भावना पनि बढ्छ ।
३. मानौं तपाईं अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर पिसिआर भएको छैन । कोभिडको पुष्टि भइसकेकालाई अरू कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ । तर कोभिडको शङ्का मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न मिल्दैन, छुट्टै कोठामा एक्लै राख्नुपर्छ नत्र सँगै राखिएका एकलाई कोभिड रहेछ र अरूलाई रहेनछ भने अरूलाई पनि सर्ने खतरा हुनेभो । त्यसैले तपाईंलाई भर्ना गर्न एक्लै छुट्टै कोठा मिल्नुप¥यो जुन अचेल एकदम दुर्लभ छ । कोभिड वार्डमा जति बेड खालि भए पनि तपाईंलाई राख्न मिलेन ।
त्यसैले कोभिडको लक्षण देखिनेले कम्तीमा पिसिआर चाँडो गरिहाल्नु जरूरी छ ।
(डा. सुवेदीको ट्विटरबाट साभार । सुवेदी सरुवारोग विशेषज्ञ हुन् ।)
