बेनी
कात्तिक १६
म्याग्दी जिल्लामा लक्षणसहितका सङ्क्रमितको संख्या बढ्दै गएपछि सदरमुकाम बेनीमा सचेतनामूलक र््याली आयोजना गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला स्वास्थ्य कार्यालयको अगुवाईमा आइतबार बिहान र््यालीको आयोजना गरिएको हो । यसक्रममा सचेतना ब्यानारसँगै सदरमुकाम बेनीबजारको परिक्रमा गरिएको थियो ।
स्वाब परीक्षणका लागि नमुना दिएकाहरु समेत घरबाहिर निस्कने गरेपछि सदरमुकाम बेनीबजार संक्रमणको उच्च जोखिममा छ । र््यालीमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु अनिवार्यरुपमा पिसिआर परीक्षण गराउन, होम क्वारेन्टाइनमा बस्न र मास्क लगाउने, भौतिक दुरी कायम राख्न जानकारी गराइएको थियो ।
डिसिसिएमसी म्याग्दीका प्रमुख एवं प्रमख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे पनि न्यूनतम स्वास्थ्य मापदण्ड पूरा गर्न र भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको जानकारी दिए ।
“र््यालीमार्फत् नागरिकको घरदैलोमै पुगेर सन्देश दिने काम भएको छ ।” नागरिकहरुले नबुझेर भन्दा स्वास्थ्य मापदण्ड लागू नगर्दा संक्रमण भयावहरुपमा फैलन सक्ने अधिकारीको भनाइ छ ।
जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले पछिल्लो समय लक्षणसहितका संक्रमित भेटिन थालेको भन्दै यसप्रति समुदायस्तरमै सचेतना वृद्धि गर्नुपर्ने आववश्यकता औंल्याएका छन् ।
र््यालीमा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, बेनपा ७ र ८ वडाका अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।


