बेनी
कात्तिक १०
सद्गुरु
![]() |
| सद्गुरु जग्गी वासुदेव |
‘स्त्रैण’ वा ‘स्त्री प्रकृति’ भनेको स्त्री वा नारी हुने बारेमा होइन । स्त्री हुनु भनेको शरीरसँग मात्रै सम्बन्धित कुरा हो । तर, स्त्रैण शरीरसँग सम्बन्धित हुँदैन, यो त्यसभन्दा निकै माथि हुन्छ । यस संस्कृतिमा स्त्रियोचित गुणलाई निकै प्रशंसा र सम्मान गरिएको छ । तर, दुर्भाग्यवश यही संस्कृतिमा स्त्रैणको भयावह शोषणसमेत भएको छ । स्त्रैणको गुणगान र प्रशंसाबाटै यो संस्कृति हुर्किएको थियो, तर बिस्तारै यही संस्कृतिले स्त्रैणको शोषण गर्दै गएको छ ।
‘स्त्रैण’ लाई व्याख्या गर्नको लागि प्रयोग गरिएको मूल शब्द ‘री’ हो । ‘री’ शब्दले अस्तित्वको देवी मातालाई जनाउँछ, साथै ‘स्त्री’ शब्दको मूल आधार ‘री’ हो । ‘री’ शब्दको अर्थ महिला हो । ‘री’ शब्दको अर्थ गति, सम्भावना वा ऊर्जा हो ।
सर्वप्रथम, सृष्टिमा स्त्रैण (स्त्री प्रकृति) को जन्म कसरी भयो ? कथा यसरी सुरु हुन्छः जब अस्तित्व आफ्नो सुरुको अवस्थामा थियो, तब अस्तित्वको लागि हानिकारक शक्तिहरू सक्रिय भए अनि अस्तित्वमाथि नै धावा बोल्न थाले । यसबाट चिन्तित भई तीन प्रमुख देवताहरू ब्रह्मा, विष्णु र महेश्वर मिले । यी तीनै देवताहरू भिन्न–भिन्न गुणहरूका प्रतीक हुन् । आधुनिक विज्ञानको खोजअनुसार हाम्रो अस्तित्वको लागि प्रोटोन, न्यूट्रोन र इलेक्ट्रोन मूलभूत आधार हुन् भन्ने प्र्रष्ट भएको छ । यिनीहरू एक निश्चित स्थानमा छन्, र साथै गतिशील छन् । यी तीनवटै शक्तिहरूभन्दा पर रहेको विद्युतीय चार्जले तिनलाई गतिशील बनाउँछ । त्यो विद्युतीय चार्ज बिना यी क्रियाशील हुन सक्दैनन् । अनि, यदि यी तीनवटै क्रियाशील नहुने हो भने, सृष्टि सम्भव नै हुन सक्दैन ।
माथिको कथाले, विज्ञानको यही पक्षलाई तार्किक रूपमा प्रस्तुत गरेको हो । कथा अनुसार तीनैजना देवताहरू मिले, किनकि विध्वंसक शक्तिहरू हावी भएका थिए । त्यो शक्तिलाई कसरी सम्हाल्ने भनेर उनीहरूलाई थाहा थिएन । उनीहरूमा तीनवटा प्रमुख गुणहरू थिए, तर उनीहरूले यो पत्ता लगाए कि यी तीनवटै गुणहरू समेत पर्याप्त छैनन् । तब, उनीहरूले तीनवटै गुणहरूको संयोजन जरूरी भएको बुझे । अतः तीनैजनाले आफ्नो पूरै शक्तिले श्वास छोडे अनि आफूभित्रको असल गुण बाहिर निकाले । यी तीनै शक्तिहरूबाट निस्किएको श्वास मिलेर एक भयो, अनि स्त्रैण वा देवीमा रूपान्तरित भयो । ‘देवी’ शब्दको मूल शब्द ‘देव’ हो । ‘देव’ को अर्थ हो ‘आकाश’ । तसर्थ, देवी कुनै कण होइनन्, उनी त्यो अन्तरिक्ष वा आकाश हुन्, जसले तीनवटै मूलभूत शक्तिहरूलाई अस्तित्वमा थामेर राख्छिन् । यही शक्तिलाई हामी ‘देवी’ भन्दछौँ ।
अहिले चान्द्रमास अनुसार नवरात्रि चलिरहेको छ । यसबेला देवीका विभिन्न स्वरुपको पूजा भैरहेको छ । यी फरक फरक नाम र रुप भएका देवी को हुन् ? हाम्रो जीवनमा यिनको कस्तो महत्व छ भन्ने कुरालाई छोटकरीमा यसरी बुझ्न सकिन्छ ।
नवरात्रिः पहिलो ३ दिन तमस प्रकृति
योग पद्धतिमा संसारका सबै गुणहरुलाई तीन मूल गुणहरूमा समावेश गरिएको छ– तमस, रजस र सत्व । तमस भनेको जडता वा निष्क्रियता हो । रजस भनेको गतिविधि वा सक्रिय हुनु हो । सत्व भनेको सीमाहरूबाट पर जानु हो । नवरात्रिको पहिलो तीन दिनहरू तमस प्रकृतिका हुन्छन्, जहाँ देवीको रूप उग्र हुन्छ, जस्तै कि दुर्गा र काली । तमसको प्रकृति धरतीको जस्तै हुन्छ । वास्तवमा, धरतीले नै सबैलाई जन्म दिन्छिन् । हामीले गर्भमा बिताउने समय तमस प्रकृतिको हुन्छ । यो यस्तो अवस्था हो, जुन लगभग निष्क्रिय जस्तै भएपनि हामी हुर्किरहेका हुन्छौँ । त्यसैले यो धरती र तपाईंको जन्मको प्रकृति तमस अवस्था हो ।
तपाईं यस धरतीमा हुनुहुन्छ, त्यसैले तपाईंले उनीसँग एक हुन सिक्नुपर्छ । तपाईं यसैपनि धरतीको अंश हो । धरतीले चाहेको बेलामा, तपाईंलाई शरीरको रूपमा यस अस्तित्वमा ल्याउँछिन् । अनि उनले चाहेको बेलामा पुनः यो शरीरलाई आफूमा विलिन गर्छिन् । तसर्थ, तपाईंले जतिबेला पनि आफूलाई आफ्नो शरीरको प्रकृतिको बारेमा स्मरण गराउनु असाध्यै अपरिहार्य छ । यतिखेर, तपाईं धरतीको थुप्रो हो, जो यताउती बुर्कुसी मारिरहनु भएको छ । जब धरतीले तपाईंलाई आफूमा समाहित गर्ने इच्छा गर्छिन्, तपाईं यसैमा मिसिनुहुन्छ ।
(मेरो) आश्रममा, म मानिसहरुलाई सधैँ भन्ने गर्छु कि तपाईंहरूले चाहे जुनसुकै काम गरिरहेको भएपनि हरेक दिन कम्तीमा एक घण्टा आफ्ना औँलाहरूलाई माटोको सम्पर्कमा राख्नुपर्छ । बगैँचामा केही गर्नुहोस् । यो प्रक्रियाबाट तपाईंको शरीरमा स्वाभाविक रूपमा यो कुरा स्मरण रहन्छ कि तपाईं नश्वर हो । तपाईंको शरीरलाई ज्ञात हुनेछ कि यो सधैँभरि रहने छैन । यदि तपाईं आध्यात्मिक पथमा आफ्नो ध्यान केन्द्रित गरिरहन चाहनुहुन्छ भने, शरीरमा नश्वरता (मरणशीलता) बोध हुनु अत्यन्तै महत्वपूर्ण छ । जब केही जान्ने चाहना जति गहिरो र आतुर हुन्छ, आध्यात्मिक आकांक्षा त्यति नै प्रबल हुन्छ ।
दोस्रो ३ दिन रजस प्रकृति
पृथ्वी, सूर्य र चन्द्रमासँग हाम्रो शरीरको निर्माण निकै गहिरो स्तरमा जोडिएको हुन्छ । यीमध्ये पृथ्वी वा धरती तमस प्रकृतिको हुन्छ । सूर्यको प्रकृति रजस हो । चन्द्रमाको प्रकृति सत्व हो । पृथ्वी अनि तपाईंको जन्मको प्रकृति तमस हो । तपाईं जन्मिनेबित्तिकै गतिविधि शुरु हुन्छ, अर्थात् रजस शुरु हुन्छ । रजस शुरु भएपछि, तपाईं केही गर्न चाहनुहुन्छ । जब तपाईं केही गर्न थाल्नुहुन्छ, यदि तपाईंले त्यसलाई जागरूकतामा साथै सचेत भएर गर्नुभएन भने– जबसम्म तपाईंसँग सबैथोक ठीकठाक चलिरहेको हुन्छ, रजस राम्रो हुन्छ । तर, जब परिस्थिति बिग्रिन थाल्छ, रजस अन्यन्तै खराब हुनेछ ।
जब तपाईं पूर्ण रूपमा इच्छुक भएर कुनै काम गर्नुहुन्छ, त्यो काम सुन्दर हुन्छ अनि त्यसले तपाईंलाई आनन्दित बनाउँछ । जब तपाईं अनिच्छुक बन्नुहुन्छ वा नचाहेरै कुनै काम गर्नुहुन्छ, त्यो कामले तपाईंमा कष्ट उत्पन्न गर्दछ ।
रजस प्रकृति भएको व्यक्तिमा प्रचुर मात्रामा ऊर्जा हुन्छ । कुरा यत्ति हो कि त्यो ऊर्जालाई सही दिशा दिनुपर्ने हुन्छ । तपाईंको प्रत्येक काम कि त मुक्तिको प्रक्रिया बन्न सक्छ, वा तपाईंलाई बन्धनमा पार्ने प्रक्रिया बन्न सक्छ । जब तपाईं पूर्ण रूपमा इच्छुक भएर कुनै काम गर्नुहुन्छ, त्यो काम सुन्दर हुन्छ अनि त्यसले तपाईंलाई आनन्दित बनाउँछ । जब तपाईं अनिच्छुक बन्नुहुन्छ वा नचाहेरै कुनै काम गर्नुहुन्छ, त्यो कामले तपाईंमा कष्ट उत्पन्न गर्दछ । चाहे तपाईं जेसुकै गर्नुहोस्– यहाँसम्म कि भुइँमा बढार्नु परे तापनि, त्यसमा आफूलाई पूर्णतया समर्पित गरी तन–मनले त्यो काम गर्नुहोस् । वास्तवमा गर्नुपर्ने त्यति नै हो ।
जब तपाईं कुनै पनि काममा आफूलाई पूरै समर्पित गर्नुहुन्छ अनि त्यसमा मग्न रहनुहुन्छ, तपाईंको लागि अरू कुनै पनि कुराको अस्तित्व रहँदैन । मग्न हुनु भनेको ‘पुरुष वा स्त्री’ प्रतिको भाव होइनः मग्न हुनु अर्थात् कुनै सङ्कोचबिनै जुनसुकै कुरामा पूर्णतया संलग्न र सहभागी हुनु । कार्य जेसुकै हुन सक्छ– तपाईं मग्न भएर गाउन सक्नुहुन्छ, मग्न भएर नाच्न सक्नुहुन्छ वा मग्न भएर यत्तिकै हिँड्न सक्नुहुन्छ । तपाईं अहिले जे–जति चिजको सम्पर्कमा हुनुहुन्छ, तपाईं त्यसमा पूरै मग्न र संलग्न रहनुहोस् । मग्न भएर श्वास फेर्नुहोस्, मग्न भएर हिँड्नुहोस्, मग्न भएर बाँच्नुहोस् । तपाईंको अस्तित्व नै सबैथोकसँग पूर्णतया संलग्न रहेको हुनुपर्छ ।
अन्तिम ३ दिन सत्व प्रकृति
सत्व, रजस र तमस नभएको कुनै पनि भौतिक चिज छैन । प्रत्येक अणुमा कम्पन, ऊर्जा र निश्चित स्थिरता हुन्छ । यदि यी तीन तत्वहरू नहुने हो भने, तपाईं कुनै पनि चिजलाई थामेर राख्न सक्नुहुन्न । यो सहजै क्षतविक्षत हुनेछ । यदि तपाईंभित्र सत्व मात्रै भयो भने, तपाईं यहाँ एक क्षणको लागि पनि रहन सक्नुहुन्न– तपाईं आफु बसेको ठाउँबाट कतै जानुहुनेछ । यदि रजस मात्र भयो भने, त्यसले पनि काम गर्दैन । यदि तमस मात्र भयो मने, तपाईं जतिबेला पनि सुतिरहनु हुन्छ । त्यसैले, यी तीन गुणहरू हरेक चिजमा रहेका हुन्छन् । तपाईं यी चिजहरूलाई के–कति मात्रामा मिलाउनु हुन्छ भन्ने कुरा मात्र प्रश्नको विषय हो ।
तामसी प्रकृतिबाट सात्विक प्रकृतितर्फ अघि बढ्नु भनेको आफ्नो भौतिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर अनि ऊर्जा शरीरलाई शुद्ध गर्नु हो । जब तपाईं यसलाई यस हदसम्म शुद्ध गर्नुहुन्छ, जहाँ यो निकै पारदर्शी बन्दछ, त्यस अवस्थामा तपाईं सृष्टिको स्रोतलाई अनुभव गर्नबाट चुक्नुहुन्न, किनकि त्यो तपाईंभित्रै छ । मैले यी कुरा गर्दै गर्दा तपाईंका लागि यो असाध्यै अपारदर्शी र अस्पष्ट कुरा लागिरहेको छ । त्यसैले तपाईं यसलाई देख्न सकिरहनु भएको छैन । तपाईंको शरीर पर्खाल जस्तै भएको छ, जसले सबैथोक छेकिरहेको छ । यो यति अद्भुत छ, अर्थात् सृष्टिको स्रोत यहीँ छ, तथापि यो पर्खालले त्यसलाई रोक्न सक्छ किनकि यो एकदमै अपारदर्शी छ । यसलाई शुद्ध गर्ने समय भएको छ । अन्यथा, तपाईंलाई पर्खालको बारेमा मात्र थाहा हुन्छ– तपाईंले त्यसलाई जान्नुहन्न जो आफुभित्रै छ ।
अनलाइनस्रोतको सहयोगमा

