बेनी
असोज २८
धवलागिरी गाउँपालिका–७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पोखरास्थित गण्डकी अस्पतालमा उपचारका लागि गएका ८६ वर्षका ती पुरुषलाई सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । “ताकमका ८६ वर्षका वृद्धलाई सङ्क्रमण भएको हो, बाँकी विवरण आउन बाँकी छ,” प्रमुख लम्सालले भने ।
स्वास्थ्य प्रमुख लम्सालका अनुसार काठमडौ.बाट १५ दिनअघि गाउँ फर्किएका उनलाई विरामी भएपछि उपचारका लागि असोज २६ गते पोखरा लगिएको थियो । उपचारका क्रममा गण्डकी अस्पतालमा स्वाब परीषण गर्दा कोरोना पुष्टि भएको हो ।
पछिल्लो केही दिनयता सङ्क्रमणको प्रकृति हेर्दा म्याग्दीमा पनि कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको हुनसक्ने देखिएका छन् ।
दशैंलगायतका चाडपर्व नजिकिँदै गर्दा गाउँ फर्किने मानिसहरुले नै भाइरसको सङ्क्रमण फैलाउन सहयोग गर्ने भन्दै सरकार, जिल्ला प्रशासनलगायतका सरोकारवाला निकायले सतर्कता अपनाउन अनुरोध गर्दै आएका छन् ।