बेनी
कात्तिक ७
कात्तिक ७
नेपाल कम्युनिष्ट पार्टी, नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी कोरोना सङ्क्रमणमुक्त भएकी छिन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएको १९ औँ दिनमा उनी सङक्रमणमुक्त भएकी हुन् ।
कोरोनालाई पराजित गरेकी चौधरीले पुनर्जीवन पाएको महसुस भएको प्रतिक्रिया दिएकी छिन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै चौधरीले भनेकी छिन, “पुरै १९ दिनको अस्पताल बसाइ र त्यसमा पनि अधिकांश समय आइसियूमा छट्पटिनु पर्दाको पीडा वर्णन गर्न नसकिने खालको छ ।”
![]() |
| सांसद चौधरी |
“पहिलेदेखिका गम्भीर रोगहरुको कारणले पनि कोरोनाले मलाई यसरी गलाएको हुनुपर्छ । पुराना रोग हुनेहरुलाई बचाउन गाह्रो पर्छ भन्ने सुनिरहेकोले पनि बाँच्छु जस्तै लागेको थिएन । यसको अनुभव कुनै दिन सार्वजनिक गर्ने नै छु । आज कोरोना निगेटिभ भएको नतिजा आयो । लाग्यो मैले पुनर्जीवन पाएँ,” उनले अगाडि लेखेकी छिन् ।
“वीर अस्पतालको अति सघन उपचार कक्षको बेडमा बडो मुश्किलले सास फेरिरहँदा आफूलाई एकदम निरीह महसूस गर्थे। बाहिर हजारौँ शुभचिन्तकहरू हुनुहुन्थ्यो जसले मेरो शीघ्र स्वास्थ्यलाभको कामना गरिरहनु भएको र मेरो स्वास्थ्यको चिन्ता गर्दै आवश्यक समन्वय र सहजीकरणका लागि प्रयत्न गरिरहनु भएको थियो । तर म हजारौँ शुभचिन्तकहरूको भीडमा एक्लो एक्लो महसूस गर्थें । यस्तो अनुभव अधिकांश कोरोना संक्रमितले गर्नुभएकै हुनुपर्छ । म अझै डिस्चार्ज भएकी छैन । कोरोनामुक्त भएपनि आफ्नै नित्य दैनिकीमा फर्कन मलाई समय लाग्नेछ”, चौधरीले लेखेकी छिन् ।
कोरोना सङक्रमण भएका बेला आफुलाई सहयोग गर्ने पार्टीका नेता, समर्थक, शुभचिन्तक, डाक्टर, नर्स लगायत आफन्तलाई धन्यवाद दिँदै सांसद चौधरीले अस्पताल परिवारलाई विशेष कृतज्ञता व्यक्त गरकी छिन् । “उहाँहरुले मृत्यूको मुखबाट बाहिर निकालेर मलाई पुनर्जीवन दिनुभयो । बेलाबेलामा हौसला दिइरहनु भयो । विशेष हेरचाह गर्नुभयो र आज म यो स्टाटस लेख्ने अवस्थामा फर्कें,” चौधरीले अगाडि लेखेकी छिन्, “उहाँहरूका लागि मेरा शब्दका धन्यवाद अपुरो होला ।”
अस्पतालबाट विदा हुने दिन फेरि आफ्नो विचार राख्ने भन्दै सांसद चौधरीले यस वर्षको बडादशैंले कोरोनारुपी महाशत्रुसँग लड्न शक्ति मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
