बेनी
कात्तिक १३
मुस्ताङका किसानहरु रैथाने खाद्यबाली फापर भित्र्याउन जुटेका छन् । असार महिनामा छरेको फापर असोज र कात्तिकमा पाकेपछि थन्क्याउने गरिन्छ । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर मुस्ताङको प्रसिद्ध रैथाने खाद्य बालीमध्ये एक हो ।
![]() |
| तस्विरः सुन्दरकुमार थकाली |
समुद्री सतहको २ हजार देखि ५ हजार मिटरसम्मको उचाइमा फापर खेती गरिँदै आएको कागबेनीका स्थानीय किसान धावा दोर्जे गुरुङले बताए । “मुस्ताङको पहिचान भनेको उवा, जौ, मकै, आलु, बोडी जस्ता खाद्यपदार्थ हुन्,” गुरुङले भने, “पछिल्लो समय फापर पनि मुख्य ब्रान्ड बन्दै गएको छ ।” गुरुङका अनुसार अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो हुन्छ । तर, यसको उत्पादन व्यावसायिक रुपमा भन्दा पनि घरायसी प्रयोजन र आफन्तहरुलाई कोसेली पठाउनमै सीमित भएको छ ।
मुस्ताङका ५ वटै स्थानीय तहमा फापर खेती हुने गरेको छ । स्थानीयका अनुसार मुस्ताङको थासाङ–१ टुकुचेदेखि माथि लोमान्थाङको सीमावर्ती गाउँसम्म फापर खेती हुन्छ ।
हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर, बजारको भान्साघर र होटलहरुमा ‘मेनु’मा समेटिन थालेको छ । स्थानीयले ढिडो, रोटी लगायतका परिकारका रुपमा प्रयोग गर्दै आएको फापरको परिकार पछिल्लो समय मुस्ताङ पुग्ने पर्यटकले समेत रुचाउन थालेपछि यसले विस्तारै ‘ब्रान्ड’को रुप लिन थालेको छ ।
फापरमा कार्बोहाइड्रेट, प्रोटिन र लाईसिन, एमिनो एसिडजस्ता खनिजतत्व पाइन्छ । यसको नियमित सेवनले मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीलाई उपयोगी हुने बताइन्छ ।
