बेनी
कात्तिक १३
पछिल्लो २४ घण्टामा म्याग्दीमा थप पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले एक विज्ञप्तिमार्फत् यस्तो जानकारी गराएका हुन् ।
सङ्क्रमित हुनेहरुमा भारत घर भई हाल रघुगङ्गा हाइड्रोपावरमा कार्यरत वर्ष ४१, ५० र ५५ का तीन जना पुरुष, जिल्ला प्रहरी कार्यालयमा कार्यरत वर्ष २५ का एक जना पुरुष र बेनी अस्पतालमा कार्यरत वर्ष २७ का एक जना महिला रहेका छन् । अस्पतालका महिला कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेकी थिइन् ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालका अनुसार सङ्क्रमित पाँचै जनाको अवस्था सामान्य रहेको र उनीहरुलाई होम आइसोलेसन तथा स्थानीय आइसोलेसन केन्द्रमा बसोबासको व्यवस्था मिलाइएको छ ।
म्याग्दीमा हालसम्म १ हजार ८ सय ५४ ओटा नमुना सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये १८३६ जनाको नतिजा आएको छ । प्राप्त नतिजामध्ये १७२२ ओटाको नेगेटिभ, ११३ ओटा पोजेटिभ (दोस्रो र तेस्रोसमेत गरी), एक जनाको ‘इनभ्यालिड’ र बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
साविक धौलागिरीका चार जिल्लामध्ये मुस्ताङ र म्याग्दी तुलनात्मक रुपमा सुरक्षित जिल्ला मानिन्छन् । तर, पछिल्ला केही साताका नतिजाहरुले यी दुई जिल्लामा पनि भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको आशङ्कालाई बल दिएका छन् ।