Notification

×

Iklan

Iklan

दशैंमा बढ्यो डिजिटल कारोबार

Thursday, October 29, 2020 | October 29, 2020 WIB Last Updated 2021-12-30T03:25:54Z


बेनी

कात्तिक १३


यस वर्षको दशैंमा डिजिटल कारोबारमा बढोत्तरी भएको छ । कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपभोक्ताहरुले दशैंमा टीका लगाएर नोट दिनभन्दा डिजिटल माध्यमलाई उपयोग गरेको देखिएको हो । केही वर्षदेखि दशैंको दक्षिणा मोबाइल वालेटबाट दिन केही भुक्तानी सेवा प्रदायकले मार्केटिङ गर्दै आए पनि अपेक्षितरुपमा सफल भैरहेको थिएन ।


प्रतीकात्मक तस्विर



तर, यसपटक भने परिस्थिति बदलियो । नोटको लेनदेन गर्दा कोरोना सङ्क्रमण बढ्ने भएपछि वाणिज्य बैंकहरुले मोबाइलमार्फत दक्षिणा दिने अभियान चलाएका थिए । भुक्तानी प्रदायक कम्पनीसँगै बैंक तथा वित्तीय संस्था पनि थपिएपछि नोटको कारोबारमा कमी आएको छ । 


नोटबाट कोरोना भाइरस सर्न सक्ने जोखिम भएकाले वित्तीय संस्था, मोबाइल वालेट सेवा प्रदायक, चिकित्सकसहित सरकार आफैंले पनि विद्युतीय भुक्तानी प्रोत्साहन गर्न विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गरेका थिए । नेपाल राष्ट्र बैंकले गत चैतमा मोबाइल तथा इन्टरनेट बैंकिङसँगै डिजिटल वालेटहरुबाट गरिने विद्युतीय भुक्तानीको सीमा बढाएको थियो । बैंकहरूले आफ्ना मोबाइल एपबाट कारोबार गर्दा क्यासब्याक र छुटका स्कीमहरू सार्वजनिक गरेका थिए ।




इसेवाबाट दशैं बिदाको पाँच दिने अवधिमा कारोबार संख्या ११ लाखभन्दा बढी भएको छ । जसमार्फत् इसेवा प्रयोगकर्ताहरुले एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको कम्पनीले जनाएको छ। त्यसैगरी, इसेवाले दशैंको टीकाको दिनलाई लक्षित गरी लञ्च गरेको डिजिटल दक्षिणा स्किमबाट त्यो दिन प्रयोगकर्ताहरुले ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको कम्पनीले जनाएको छ । 


त्यस्तै अर्को भुक्तानी प्रदायक ‘खल्ती’बाट दशैंको फुलपातीदेखि एकादशीसम्मका पाँच दिनको अवधिमा करिब साढे सात करोड रुपैयाँ कारोबार भएको छ । खल्तीले हरेक दिन डेढ करोड रुपैयाँ हाराहारीमा कारोबार गरेको खल्तीका निर्देशक अमित अग्रवालले जानकारी दिए । “दशैंअघि कारोबार संख्या दिनको तीन हजार हाराहारी मात्रै हुने गरेको थियो, दशैं शुरु भएपछि तीन गुणाभन्दा बढीले बढेको छ,” अग्रवालले भने ।


नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट दशैं बिदाको पाँच दिनमा ८४ करोड रुपैयाँको कारोबार गरेको प्रमुख कार्यकारी निलेशमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार दशैंको पाँच दिने बिदामा कुल ७५ हजार ५ सयओटा कारोबार भएको छ । दशैं दक्षिणा स्किमअन्तर्गत उक्त अवधिमा तीन हजार वटा कारोबारबाट कुल ८१ लाख रुपैयाँको कारोबार भएको उनले जानकारी दिए ।


आइएमइ पे र प्रभु पे लगायतका मोबाइल वालेट कम्पनीहरुले अघिल्लो दशैंभन्दा कारोबार बढेको बताए पनि तथ्याङ्क भने सार्वजनिक गरेका छैनन । 


दशैं शुरु हुनु अगावै नेपालका प्राय सबै मोबाइल वालेट कम्पनीहरुले दक्षिणा दिँदा डिजिटल माध्यम प्रयोग गर्न आफ्ना ग्राहकहरुलाई आग्रह गरेका थिए । अघिल्लो वर्षहरुको दशैंमा खासै डिजिटल दक्षिणाको प्रयोग नभए पनि यसपटक परिस्थितिले यसको प्रयोग बढाएको मोबाइल वालेट कम्पनीहरुले जानकारी दिएका छन् । 


कोरोना महामारी बढेपछि सरकारले गत चैत ११ देखि बन्दाबन्दी (लकडाउन) गरेको थियो । त्यसयता डिजिटल कारोबार उल्लेख्य रूपमा बढेको छ । राष्ट्र बैंकका अनुसार गत चैत, वैशाख, जेठ र असार गरी चार महिनामा ५८ खर्ब ९४ अर्ब ९६ करोड रूपैयाँ डिजिटल माध्यमबाट कारोबार भएको थियो। यसमा मोबाइल वालेटबाट मात्रै १७ अर्ब १५ करोड ४० लाखको कारोबार भएको तथ्यांक छ । 


बैंकहरूले आफ्ना मोबाइल एपबाट विद्युत, केबुल, इन्टरनेट, स्कुल, कलेजका शूल्कसँगै किनमेल पनि गर्न मिल्ने सुविधा दिएका छन् । यसले ‘मोबाइल वालेट’ सेवा सञ्चालन गर्ने कम्पनीलाई केही चुनौती थपिए पनि समग्रमा डिजिटल कारोबार बढेको सेवाप्रदायकहरुले बताएका छन् ।


बिजमाण्डुको सहयोगमा


×
Berita Terbaru Update