Notification

×

Iklan

Iklan

हाइड्रोका कर्मचारीमा सङ्क्रमण देखिएपछि त्रासमा रघुगङ्गाबासी

Thursday, October 29, 2020 | October 29, 2020 WIB Last Updated 2021-12-30T03:25:53Z


बेनी

कात्तिक १४


रघुगङ्गा जलविद्द्युत् आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाका स्थानीय त्रसित बनेका छन् । पछिल्लोपटक तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै यस्तो त्रास बढेको हो । 




भारत घर भई हाल रघुगङ्गा हाइड्रोपावरमा कार्यरत ४१, ५० र ५५ वर्षका तीन जना पुरुष सङ्क्रमित पाइएपछि गाउँपालिकाको केन्द्रसमेत रहेका मौवाफाँटका सर्वसाधारण चिन्तित बनेका छन् ।  यसअघि सोही हाइड्रोमा काम गर्ने एक जना पुरुषमा सङ्क्रमण पुष्टि भैसकेको छ ।


मौवाफाँटका स्थानीय अगुवा मुकुन्द सुवेदीले आयोजनामा कार्यरत भारतीय नागरिकहरु सबैजसो दक्ष कर्मचारी रहेको र तिनको सहयोगीका रुपमा स्थानीय युवाहरु रहेकाले संक्रमणको जोखिम बढेको विचार व्यक्त गरेका छन्।

 

फाइल तस्विर



“आयोजनामा काम गर्ने कर्मचारीमा सङ्क्रमण बढ्नु भनेको स्थानीय युवाहरु पनि जोखिममा पर्नु हो,” सुवेदीले भने, “पिप्लेदेखि दग्नाम हुँदै झिँसम्मका युवाहरु आयोजनामा काम गर्छन् । तिनीहरु जोखिमरहित छन् कि छैनन् भनेर थाहा पाउने केही उपाय छैन ।”


उनका अनुसार आयोजनामा हाल मौवाफाँटका करिव सात आठ जना युवाले काम गरिरहेका छन् । त्यसबाहेक आयोजनाका कर्मचारीहरुले किनमेल गर्ने केही पसलहरु समेत जोखिममा पर्न सक्ने देखिन्छ।


सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाउने चलन छ । तर, रघुगङ्गा हाइड्रोमा कार्यरत ४ जना कर्मचारीलाई सङ्क्रमण पुष्टि हुँदा तिनका सहयोगी वा सम्पर्कमा रहेका कति जनाको स्वाब परीक्षण भएको भन्नेबारे अहिलेसम्म जानकारीमा आएको छैन ।


रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आयोजनालाई बन्दाबन्दीको बेला पनि सञ्चालन गर्ने वातावरण बनाइएको तर, संक्रमण बढ्दै जाँदा के गर्ने भन्नेबारे ठोस निर्णय नभएको जानकारी दिए ।


फाइल तस्विर



“रघुगङ्गाको समस्याबारे प्रमुख जिल्ला अधिकारी र कमाण्ड पोष्टका सदस्यलाई जानकारी गराएका छौं,” अध्यक्ष भण्डारीले भने, “हाइड्रोको प्रशासन प्रमुखलाई काम गर्ने कर्मचारीमध्ये कम्तीमा ५० प्रतिशतलाई पिसिआर परीक्षणको व्यवस्था गर्न ताकेता गरिएको छ ।”


भारतीय एक्जिम बैंकको ऋण लगानीमा म्याग्दीमा ४० मेगावाटको रघुगङ्गा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।



×
Berita Terbaru Update