Notification

×

Iklan

Iklan

एक साताका लागि बेनी नगरपालिकाको सबै सेवा बन्द हुने

Friday, October 30, 2020 | October 30, 2020 WIB Last Updated 2021-12-30T03:25:53Z

 

बेनी

कात्तिक १४


बेनी नगरपालिकामा अतिआवश्यक बाहेकका सबैखाले सेवाहरु एक साताका लागि बन्द हुने भएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हस्ताक्षर गरेको ‘जरुरी सूचना’ मा भनिएको छ, “बेनी नगरपालिकाको कार्यालय तथा बेनी नगरपालिकाका सबै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु, सदरमुकामस्थित बैंक, वित्तीय संस्था एवं सहकारीहरुबाट प्रदान गरिने सेवाहरु, अत्यावश्यक बाहेकका पसलहरु मिति २०७७ कात्तिक १४ गते राति १२ बजेदेखि  २१ गते राति १२ बजेसम्म बन्द गर्ने ।”


अत्यावश्यक सेवाअन्तर्गत औषधि पसलहरु चौबिसै घण्टा खुला रहनेछन् भने तरकारी र किराना पसलहरु बिहान ८ बजेदेखि १० बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको छ ।




त्यसैगरी बैठकले ‘अतिआवश्यक काममाबाहेक एक साताको अवधिमा सङ्क्रमित बाहिरी जिल्लाबाट म्याग्दी जिल्लामा आवतजावत नगरिदिन’ पनि सर्वसाधारण नागरिकलाई अनुरोध गरेको छ ।


अरु जिल्ला जस्तै म्याग्दीमा पनि कोभिड–१९ बाट संक्रमित व्यक्तिहरु दिनदिनै बढिरहेको र यो क्रम आगामी दिनमा पनि बढ्दै जाने सम्भावनाबारे बैठकमा छलफल भएको थियो । बेनी नगरपालिकाको लिखित पत्र, म्याग्दी उद्योग वाणिज्य संघको सुझाव र जिल्ला सुरक्षा समितिको मूल्याङ्कनलाई आधार मान्दै बैठकले शुक्रबार रातिदेखि लागू हुनेगरी अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।


कोरोना सङ्क्रमण फैलनुमा सचेत नागरिकहरु नै बढी जिम्मेवार देखिएको विश्लेषण गर्दै बैठकले बाहिर निस्कनै पर्ने कामबाहेक जनस्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर ननिस्कन नगरबासीमा आह्वान गरेको छ ।


यसअघि शुक्रबार दिउँसो बसेको बेनी नगरकार्यपालिकाको बैठकले कम्तीमा एक साता नगरपालिका क्षेत्र बन्द गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई लिखित पत्र पठाउने निर्णय गरेको थियो ।


बैठकमा बोल्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिम्मेवार व्यक्तिहरुबाटै लापरवाही हुँदा सङ््क्रमणको जोखिम बढेको विचार राखेका थिए । “कम्तीमा एक साता कार्यालय, बैंक, वित्तीय क्षेत्र बन्द गरेर हेरौं भन्ने नगरपालिकाको निर्णय हो ।”


बैठकमा सहभागी म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले दशैंका बेला बजारमा किनमेल गर्नेको घुइँचो बढेको र त्यही बेला सङ्क्रमण बढेको हुनसक्ने भन्दै एकसाता कार्यालय र संघसंस्थाका सेवा बन्द गर्नु उपयुक्त हुने सुझाव राखेका थिए ।


दशैंको मेसोमा किनमेल गर्नेको घुइँचो बढेको र यसले गाउँगाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने भन्दै बैठकले सबैलाई सचेत हुन आग्रह गरेको छ ।


डिसिसिएमसी, म्याग्दीको शुक्रबारको निर्णय बेनी नगरपालिका र यस मातहतका सबै वडामा समानरुपले लागू हुनेछन् । 


बैठकले मास्क नलगाई बजारमा हिँडेको पाइएमा कारवाही गर्न प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । “हाम्रो चिन्ता जनतालाई सङ्क्रमणबाट कसरी जोगाउन सकिन्छ भन्ने हो,” बैठकमा बोल्दै प्रमख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, “निर्णयको पालनामा अटेर गर्नेलाई प्रहरी प्रशासनले नियमअनुसार कारवाही र जरिवाना गर्न सक्छ ।”


बैठकको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले शुक्रबारको बैठकका प्रभावलाई नजिकबाट नियाल्दै थप निर्णय गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।


कार्यक्रममा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सदस्यहरु,  बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्साल, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि सुवेदी, वडा नं. ७ र ८ का अध्यक्षहरु, नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।



×
Berita Terbaru Update