Notification

×

Iklan

Iklan

अमेरिकी राष्ट्रपतीय चुनावः ट्रम्प र बाइडेनमध्ये कसले जित्लान् ?

Saturday, October 31, 2020 | October 31, 2020 WIB Last Updated 2021-12-30T03:25:53Z

 

बेनी 

कात्तिक १५


अमेरिकाको ४६ औं राष्ट्रपति को बन्ला ? अहिले धेरैको जिज्ञासाको विषय यही बनेको छ । यसका लागि त अन्तिम मतदानपछि मतगणना नै कुर्नुपर्ने हुन्छ ।


कोभिड–१९ महामारीका बीच अमेरिकाका विभिन्न स्थानमा हाल मतदान जारी छ । हुन त अमेरिकी राष्ट्रपतिको मतदानको दिन नोभेम्बर ३ हो । तर, अर्ली भोटिङ र हुलाकबाट मत पठाउने सुविधा पनि भएकोले अहिले धेरै अमेरिकीले यही प्रक्रियामार्फत मतदान गरिरहेका छन् ।


राष्ट्रपतिका प्रतिस्पर्धी ट्रम्प र बाइडेन


यसपटक महामारीकाबीच धेरै जना मतदान प्रक्रियामा सहभागी हुने पनि देखिएको छ ।


न्युयोर्क टाइम्सका अनुसार यसपटक सन् २०१६ को राष्ट्रपतिको निर्वाचनमा खसेको जति मत त हुलाकबाट आइपुगिसकेको छ । ६ करोड ९५ लाख बढी मतहरु यसरी आइपुगेका हुन् । यो ५०.४ प्रतिशत मत हो र यति नै कुल मत सन् २०१६ मा खसेको थियो ।


कोभिड–१९ महामारीका कारण मानिसहरु मतदानस्थलसम्म उपस्थित हुन नसक्ने उल्लेख गर्दै हुलाकबाट मतपत्र पठाएर मतदान गरिरहेका छन् । यसैगरी कतिपयले मतदानस्थलमै सहभागी भएर अर्ली भोटिङ गरिरहेका छन् । अमेरिकामा अर्ली भोटिङको प्रावधान रहेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमती करेनले स्थानीय समयअनुसार गत शुक्रवार सवा ८ मा मतदान गरेका छन् । उनीहरुले इन्डियनापोलिस सिटी काउन्टी पुगेर मतदान गरेका हुन् ।


यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिवार नै फ्लोरिडा पुगेर मतदान गर्ने गरिसकेका छन् ।


भावी राष्ट्रपतिमा कसले बाजी मार्लान् ? 

मतगणनाको परिणाम बिना यसबारे यकिन भन्न नसकिए पनि विभिन्न सर्वेक्षणहरुले दुईमध्ये कसले बाजी मार्ला भन्ने विषयमा अनुमान गरेका छन् । रिपब्लिकन पार्टीका उम्मेद्वार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय जातीयदेखि आर्थिक कारणले नीतिमा कमजोर बन्दै गएको बताइएको छ । बीबीसीले जनाए अनुसार अमेरिकी जनताले डेमोक्रेटिक पार्टीका नोमिनी रहेको जो बाइडेनलाई यसपटक बलिया उम्मेद्वारका रुपमा हेरिएको छ । बाराक ओबामा राष्ट्रपति छँदा उपराष्ट्रपति रहेका बाइडेन सन् १९७० देखि अमेरिकी राजनीतिमा रहेका व्यक्ति हुन् ।


बीबीसीले जनाएअनुसार एक सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेनको पक्षमा धेरै मत खस्ने देखिन्छ । ५१ प्रतिशत मत पाउने एक उम्मेद्वार आगामी कार्यकालका लागि राष्ट्रपतिमा चुनिनेछन् । हुन त सन् २०१६ को यस्तै सर्वेक्षणमा हिलारी क्लिन्टन अग्रस्थानमा देखिएकी थिइन् । तर, परिणाम ट्रम्पको पक्षमा प¥यो ।


इलेक्ट्रिकल कलेज सिस्टमले गरेको मत सर्भेक्षणमा बाइडेनले ५१ प्रतिशत र ट्रम्पले ४२ प्रतिशत मत पाएका छन् ।


उता बेलायती सञ्चारमाध्यम टेलिग्राफले पनि बाइडेनले नै अग्रता हासिल गर्ने प्रक्षेपण गरेको छ। टेलिग्राफले त १० मतमा सात देखि आठ मत नै बाइडेनको पक्षमा खस्ने देखिएको दाबी गरेको छ ।


राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोल कलेज भोट चाहिन्छ । कुल ५३८ मतमा टेलिग्राफका अनुसार बाइडेनले ४१० मत पाउने देखाएको छ । ट्रम्पको पक्षमा १२८ मतमात्र पर्ने उक्त सर्वेक्षणमा उल्लेख छ ।


टेलिभिजन बहसमाः ट्रम्प र बाइडेन



ट्रम्पले आफू नोबल शान्ति पुरस्कारका लागि चयन भएको कुरा दोहो¥याउँदै अमेरिकालाई बलियो बनाउन र अमनचयन कायम गर्न पुन निर्वाचित गर्न अनुरोध गर्दै आएका छन् । इरानी सैनिक जनरल कासिम सुलेमानीको मृत्युलाई पनि ट्रम्पले आफ्नो सफलताका रुपमा चर्चा गर्दै आएका छन् ।


यस्तो अवस्थामा बाइडेनले भने अमेरिकामा ट्रम्पको कार्यकालमा धेरै जनताले दुख पाएको जनाएका छन् । दुई राष्ट्रपतिबीच भएको टेलिभिजन बहसमा भने खासै प्रगतिशील कुराकानी नभएको प्रतिक्रियाहरु आएका थिए ।

अन्तिम बहसमा भने दुई उम्मेद्वार शालीन देखिएका थिए । चीन नीतिमा भने ट्रम्प र बाइडेन एकै नीतिमा रहेको देखिन्छ ।


एजेन्सीहरुको सहयोगमा



×
Berita Terbaru Update