बेनी
कात्तिक १
यस वर्षको बडादशैं आजबाट शुरु भएको छ । घटस्थापनाको उत्तम साईत बिहान ११ बजेर ४६ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन (आज) शनिबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै दशैं शुरु भएको छ ।
कार्तिक १ गते प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । बडादशैंको अवसरमा विशेष गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने गरिन्छ ।
