Notification

×

Iklan

Iklan

१२ कक्षाको परीक्षा मंसिर ९ गतेदेखि

Wednesday, October 21, 2020 | October 21, 2020 WIB Last Updated 2021-12-30T03:26:03Z

 

बेनी

कात्तिक ५



कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले बुधबार एक सूचना प्रकाशन गरी यस्तो जानकारी गराएको हो । परीक्षा मंसिर १६ गते सकिनेछ । 





अघिल्ला वर्षहरुमा विद्यार्थीहरुले दुई विषयको परीक्षाको अन्तरमा तयारीका लागि एक दुई दिनको सुविधा पाउने गरेकोमा यसपटक त्यो सुविधा पाउने छैनन् ।


परीक्षामा अनुपस्थित हुने विद्यार्थीका लागि थप व्यवस्था गर्न नसकिने जनाउँदै सूचनामा भनिएको छ, ‘तर कोरोना भाइरसको महामारीका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि भने सरकारबाट मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गराएको रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था मिलाइनेछ ।’




बोर्डद्वारा जारी सूचनामा अगाडि भनिएको छ, ‘कोभिड–१९ को महामारीका कारण आफुले अध्ययन गरेको जिल्लामा रहेको विद्यालय वा केन्द्रबाट परीक्षा दिन नसक्ने विद्यार्थीलाई यसअघि पेश गरेको विवरणका आधारमा परीक्षामा सहभागी हुने वातावरण मिलाइनेछ ।’


त्यसैगरी प्रयोगात्मक परीक्षा बाँकी रहेका विद्यालयहरुले आन्तरिक रुपमा सो कार्य गरी कात्तिक २५ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा बुझाउन पनि सूचनामा निर्देशन गरिएको छ ।


बोर्डका अनुसार कोभिड–१९ लाई लक्षित गरी संशोधन गरिएको नयाँ कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा हुनेछ । त्यसका लागि जम्मा एक घण्टा ३० मिनेटको समय छुट्ट्याइएको छ । 


बाँकी ६० नम्बर मध्ये ११ कक्षामा विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा थप ४० प्रतिशत र विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा  २० प्रतिशत मान्यता दिने गरी तयारी भैरहेको बोर्डले जनाएको छ ।


यस वर्ष ४ लाख ३२ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सामेल हुनेछन् ।


×
Berita Terbaru Update